Kanakai Online

बिर्तामोड नगरपालिकाद्धारा १ अर्ब ३८ करोड ३५ लाखको बजेट


शनिवार, असार ११, २०७९ |

कनकाई अनलाईन
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८रोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

शुक्रवार नगरपालिकामा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँड बाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदान बाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसै गरि यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने संघीय शसर्त अनुदान चालु तर्फ २६ करोड ७१ लाख तथा पुँजीगत तर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।

चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशुविकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पुजीगत तर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशुविकास तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन,मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरि वजेट प्रस्ताव गरिएको उपप्रमुख संग्रौलाले बताउनुभयो ।

नगरसभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक, नगरशिक्षा विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक पेश गर्नु भएको छ ।

अधिवेशनमा नगरप्रमुख पवित्रा महतरा प्रसाईले आगामि आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरले शिक्षा, स्वास्थ्य,पर्यटन, वन वातावरण तथा विपद् व्यवस्थापन, कृषि पशुपालन, पशुपंछि, उद्योग, व्यापार, व्यवसाय, श्रम तथा रोजगार, सहकारी, यातायात तथा पुर्वाधार निर्माण, युवा तथा खेलकुद, कला, साहित्य, भाषा, धर्म, संगीत, संस्कृति, सभ्यता, सामाजिक सुरक्षा, लक्षित समुह, विज्ञान प्रविधि, सूचना सञ्चार, सुशासन, राजश्व तथा वित्तिय श्रोत परिचालन लगायत विविध क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्यता रहेको थियो । ‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिबृद्धि’ बिर्तामोड नगरको विकास र सुशासन सहितको सम्बृद्धि’ को मूल नारा बिर्तामोड नगरपालिकाको रहेको छ ।

सम्बन्धित खबर