कनकाई अनलाईन
यहाँस्थित नेपाल दलित उत्थान संञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधवार आज छात्रवृत्ति प्रदान गरेको छ ।
संजालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्यानरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको संञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले बताउँनुभयो ।
विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो । सोहि अवशरमा संञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मानित गरिएको थियो । केहि बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैँया र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैँया समेत प्रदान गर्नुभएको थियो । उक्त अक्षयकोषको ब्याजबाट संञ्जालले कनकाईका ९ वटै वार्डबाट प्रत्येक वार्डबाट २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।
छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दलित विद्यार्थीका लागि हरेक बर्ष नगरले शिक्षामा बजेट बिनियोजन गर्ने र दलित विद्यार्थीलाई प्राविधिक शिक्षामा समेत अभिप्रेरित गरिदै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा बर्देवा, विद्यार्थी सुजन वयलकोटी, सल्लाकार भक्त घतानी, दलित युवा संजालका कनकाईका अध्यक्ष कैलास नेपाली, संञ्जालका पुर्वअध्यक्ष डम्बर सांसकार लगायातले दलितका शिक्षा र अन्याय पर्दाका वेलामा समेत संञ्जालले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संजालका अध्यक्ष ठाकुर रसाईलीको सभापतित्व तथा सचिव प्रदिप गजमेरको संचालनमा कनकाई १ स्थित दलित सामुदायिक भवना सम्पन्न भएको थियो ।