Kanakai Online

दुबईका असली नभएर ‘अर्कै’ राजकुमार नेपालमा


आइतवार, असार ५, २०७९ |

कनकाई अनलाईन

काठमाडौं । दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार काठमाडौं आए भनी केही नेपाली मिडियामा शनिबार समाचार आयो । समाचार आएपछि नेपालका सुरक्षा निकायहरुमा हल्लीखल्ली मच्चियो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि अचम्भित भए । किनभने दुबईका राजकुमार नेपाल आउँदैछन् भन्ने उच्च तहमा कसैलाई थाहा थिएन ।

दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ । उच्च सुरक्षा दिनुपर्ने हुन्छ । राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरु विमानस्थलमा पुग्नुपर्ने हुन्छ । तर, झापाका अस्पताल मालिक दुर्गा प्रसाईंले राजकुमारलाई स्वागत गरेको फोटो मिडियामा थियो ।

‘दुबईका राजकुमार जस्तो उच्च व्यक्तित्व नेपालको पराराष्ट्र मन्त्रालयलाई जानकारी नदिई कसरी आउनुभयो रु हामी छक्क परेर सोधखोजमा लाग्यौं’– परराष्ट्रका एक उच्च अधिकारीले भने ।

अचम्म के भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन् । तर, यी राजकुमार भने सर्वसाधारण झैं यात्रु विमानबाट काठमाडौंको विमानस्थलमा उत्रिएका थिए ।

पछि बुझ्दै जाँदा थाहा भयो– दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुनुहुन्छ । नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा हो । परराष्ट्र मन्त्रालयका अधिकारीहरुले तत्काल साउदी अरेबिया स्थित नेपाली दूतावासलाई पनि सोध्यो । दूतावासले नेपाल आएका र दुर्गा प्रसाईंले स्वागत गरेका व्यक्ति दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार होइन भन्यो ।

नेपालका कैयन मिडियाहरुले कुरै नबुझी राजकुमार आएको समाचार कसरी दियो रु परराष्ट्र मन्त्रालयले सोधीखोजी थालेको छ । सरकारी समाचार एजेन्सी राससले कुरै नबुझी समाचार प्रवाह गरेकाले पनि दुबईका राजकुमार नेपाल आए भनी भ्रमपूर्ण समाचार धेरै मिडियामा आएको हो ।

वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन् । दुबईको जनसंख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ । प्राय सबैले आफूलाई राजकुमार भन्ने गर्छन् । त्यस्तै मध्येका एक राजकुमार नेपाल आएको बुझियो । दुबईका वास्तविक क्राउन प्रिन्स आएका होइनन् ।

दुबईका क्राउन प्रिन्स नेपालको एउटा निजी अस्पतालको साधारण सिटी स्क्यान मेसिन उद्घाटन गर्न आउनु पत्याइनसक्नुको कुरा थियो ।

दुबईका क्राउन प्रिन्स आएको झैं गरेर हल्ला गरेपछि केही मात्रामा नेपालमा अवैध रुपमा सुन समेत भित्राइएको आशंका गरिएको छ । कथित राजकुमारले दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको प्रचार गरिएको छ । सुनको लौरो दिएको हो भने विमानस्थलबाट कसरी नेपाल भित्रियो रु जबकी भन्सार नतिरी ५० ग्रामभन्दा धेरै सुन नेपाल ल्याईंदैन । दुर्गा प्रसाईंले उपहार पाएको भनिएको सुनको लौरोको भन्सार तिरिएको छ कि छैन भन्ने प्रश्न उठेको छ ।

सम्बन्धित खबर