कनकाई अनलाईन
बिर्तामोड । यातायात ब्यवस्था कार्यालय बिर्तामोडको छाप किर्ते गरी सेवाग्राही ठगेर एक जना दलाल फरार भएको पाइएको छ । कनकाई(२ झापाका तिर्थराज ढकालले राजश्व तिरिदिने भन्दै सेवाग्राहीबाट रकम लिएर नक्कली छाप प्रयोग गरी ठगेर फरार भएको पाइएको हो ।
कनकाई(२ का मेघनाथ पाठकले गत माघ १० गते आफ्नो मोटरसाइकल र छोटा हात्तीको राजश्व र बिमा शुल्क तिरिदिन भनेर ६२ हजार ५ सय रुपैयाँ दिएको लामो समयसम्म पनि ढकालले ब्लुबुक फिर्ता नगरे पछि पाठकले खोजी गर्न थाले । तर ढकालले भने भरे भोलि भन्दै आलटाल गरिरहे । चैत्र महिनादेखि ढकाल फरार भए । पाठक ढकालका छिमेकी हुन । ढकाल घरमा नभेटिएपछि आफ्नो ब्लुबुक खोजी गर्दा ढकालको घरको दराजमा यातायातको छाप हानिएको र कर्मचारीको हस्ताक्षरसमेत भएको अवस्थामा भेटिएको पाठकले बताए । तर ब्लुबुकमा राजश्व तिरेको रसिद नभएपछि शंका लागेर यातायात कार्यालयमा जाँदा कार्यालयको छाप र हस्ताक्षर नक्कली भएको थाहा भएको पाठकको भनाई छ ।
ढकालले यातायात कार्यालयको किर्ते छाप र कर्मचारीको हस्ताक्षरसमेत नक्कली गरी लाखौँ ठगी गरेको आशंका छ । उनी यातायातमा काम गर्ने लेखापढी ब्यवसायी संघमा समेत आवद्ध नभएको बुझिएको छ ।
फरार रहेका ढकाल बिरुद्ध उजुरी परेको र उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुवरले जानकारी दिए । ढकालले थुप्रै अन्य सेवाग्राहीलाई ठगेको बुझिएपनि लिखित उजुरी एक जनाको मात्र आएको उनले बताए ।
ढकालले ब्लुबुकमा प्रयोग गरेको छाप र हस्ताक्षर नक्कली भएको यातायात ब्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख हरी लामिछानेले बताए । उनले यस्ता ठगीबाट बच्न सेवाग्राही स्वयम् कार्यालयमा आएर सेवा लिन आग्रह गरे ।
ढकालले पाठकलाई ब्लुबुक पछि उपलब्ध गराउने भन्दै १ लाख ९० हजारमा मोटरसाइकल समेत बिक्री गरेका थिए तर, ढकाल फरार भएपछि अर्कै ब्यक्तिले आफ्नो मोटरसाइकल भएको भन्दै लिएर गएको ढकाल बताउँछन ।
यता ढकालले पाठकलाई आफू धेरै तनावमा भएको र सुरुङ्गा आउन नसक्ने बताउँदै २० बर्ष जेल हाल्न अनुरोध गर्दै म्यासेज पठाएका छन । उनले आफुलाई जेल हालिदिए धेरै धेरै सम्झिनेपनि म्यासेजमा उल्लेख गरेका छन । ( परिवेश मिडियाबाट)