कनकाई अनलाईन
झापामा रहेका नेपाली कांग्रेसका अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा समेत पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् ।
जिल्लादेखि केन्द्रसम्मका नेताहरुले आफ्नो वडा समेत सुरक्षित गर्न नसक्दा उनीहरुका उम्मेदवारहरुले निर्वाचनमा शर्मनाक हार बेहोर्नुपरेको छ । नाम चलेका केन्द्रीय नेताहरुले समेत आफ्नो वडा सुरक्षित गर्न सकेनन् ।
पूर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको वडा भद्रपुर १० , पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको वडा अर्जुनधारा ८ , महामन्त्री विश्वप्रकाश शर्माको वडा मेचीनगर ९ ,प्रदेश सभापति उद्धव थापाको वडा अर्जुनधारा ७ , पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सरिता प्रसाईको वडा बुद्धशान्ति ३ , केन्द्रीय सदस्य महेन्द्रा सुब्बाको वडा दमक ९ , केन्द्रीय सदस्य सुशिला ढकालको वडा बिर्तामोड ९ , पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको वडा बिर्तामोड ४ मा कांग्रेसले उठाएका उम्मेदवारहरु पराजित भएका छन् ।
त्यस्तै जिल्ला तहका नेताहरुलाई हेर्दा जिल्ला सभापति देउकुमार थेबेको वडा कनकाई ३ , उपसभापति शेरबहादुर भट्टराईको वडा दमक ५ , अर्का उपसभापति केशवराज पाण्डेको वडा मेचीनगर ७, नेता राम कट्टेलको वडा मेचीनगर १० , विश्वदीप लिङ्देनको वडा दमक ६ , सुरेश सुव्वाको वडा दमक १ मा पनि पार्टी र पार्टीको समर्थनमा उठेका उम्मेदवारहरुले हारेका छन् । यहाँसम्म कि बिर्तामोड नगरपालिकाको मेयरमा उठेका आफ्ना छोरा भोजराज सिटौलालाई जिताउन नसकेका राष्ट्रिय सभाका पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले आफ्नो वडा बिर्तामोड ३ समेत सुरक्षित गर्न सकेनन् । सो वडामा एमालेले प्यानल नै जितेको छ ।
तर, जिल्ला सचिव नविन बिमलीको वडा बिर्तामोड १० , कृष्ण हुमागाईको वडा अर्जुनधारा ४ , उपसचिव कमलप्रसाद भण्डारीको वडा शिवसताक्षी ६ , पुराना नेता पूर्णानन्द शर्माको वडा कमल ५ मा कांग्रेसले जितेको छ । अर्का उपसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी आफै कचनकवल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
यो हार ती पार्टीका उम्मेदवारको नभएर कांग्रेसी नेताहरु जसले आफ्नै वडा जिताउन सकेनन् , उनीहरुको हार भएको अर्जुनधाराका कुमार भट्टराईले बताए । जनताप्रति जवाफदेही बन्न नसक्दा पार्टीका उम्मेदवारलाई जिताउन नसक्ने नेताहरुले सबक सिक्नुपर्ने बिर्तामोडका लवकुमार चौधरीको सुझाव छ ।