कनकाई अनलाईन
झापामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या वढी भएपनि पालिकाको नेतृत्वमा भने कम प्रतिनिधित्व भएको पाइएको छ ।
कुल १५ पालिका रहेको झापामा बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेबाट महिला नेतृ पवित्रा महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेद्धार बन्नुभएकी फुलमती राजवंशी गाउँपालिका प्रमुखमा बिजयी भएर नेतृत्व गरेपनि झापामा १३१ वार्डमा कोहिपनि महिलाको प्रतिनिधित्व हुन सकेन ।
झापामा पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० रहदा महिला मतदाताको सङ्ख्या भने सो भन्दा वढी ३ लाख २४ हजार ७ सय ६ रहेको छ । झापामा अन्य ९ जना मतदाता रहनुभएको छ ।
झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई मुख्य दलका पाँच महिलालाई प्रमुख पदमा उम्मेदवारी बनाएपनि विजयी भने दुई जना मात्र हुनुभएको छ ।
एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित हुनुभएको छ ।
यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बन्नुभयो भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बन्नुभएको हो । झापामा अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा कमल गाउँपालिकामा मात्र मत बराबरी हुदा गोलाप्रथाबाट मेनुका काफ्ले मात्रै महिला अध्यक्ष हुुनुभएको थियो । झापामा १२ पालिकामा भने महिला उपप्रमुखमा बिजयी बन्नुभएको छ । बाकी ३ पालिकामा भने उपप्रमुख पुरुष हुनुभएको छ । झापामा वडाध्यक्षमा एक जना पनि महिला निर्वाचित हुनुभएको छैन । सात पालिकामा वडाध्यक्ष पदका लागि महिलाको उम्मेदवारी नै नपरेको जिल्लाा निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी परेका पालिकामा समेत महिला निर्वाचित हुन नसक्दा झापाका वडाअध्यक्षमा महिलाको प्रतिनिधित्व सुन्य भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भद्रपुर–३मा मात्रै कमला थुलुङलाई वडाध्यक्ष पदमा प्रतिष्पर्धा गराउदा बाकी ठुला दलहरुले महिलालाई वडाअध्यक्षमा चुनावी प्रतिस्पर्धा गराएनन । एमालेकी थुलुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हेमबहादुर कार्कीसंग पराजीत हुदा झापामा महिला वडाअध्यक्ष समेत सुन्य हुन पुगेको छ ।
झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य केही साना दलले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएता पनि उम्मेद्धारी औपचारिकतामै सिमित हुन पुगेको छ । ठुला दलले महिलालाई उम्मेद्धारका रुपमा नपत्याउदा झापामा महिला वडाअध्यक्षमा प्रतिनिधित्व नभएको कनकाई ४ का वडाध्यक्षका बिजयी उम्मेद्धार रोषन सुवेदीले बताउँनुभयो । वडा तर्फ नेकपा (एमाले)ले ६१, नेपाली कांग्रेसले ५१, नेकपा (माओवादी केन्द्र) ७, राप्रपा ७, नेकपा (एकीकृत समाजवादी) १ र स्वतन्त्रबाट ४ जनाले वडाध्यक्षमा बिजयी हुदा महिलाको प्रतिनिधित्व भने सुन्य भएको छ ।