Kanakai Online

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ-अध्यक्ष दाहाल


बुधवार, चैत १६, २०७८ |

चितवन :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताउनुभएको छ । राप्ती नगरपालिकामा निर्माण भएको १३२÷३३÷११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उहाँले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताउनुभयो ।

माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उहाँले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ । चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उहाँले आग्रह गर्नुभयो । सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताउनुभयो । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उहाँले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्तालाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको जानकारी दिनुभयो । कृषि प्रयोजनका लागि खपत हुने विद्युत्मा ५० प्रतिशत छुट दिने काम पनि आफैले गरेको भन्दै उहाँले विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताउनुभयो । पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय सामग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको मन्त्री भुषालको भनाइ छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्ययोजना बनाइ काम अगाडि बढाएको जनाउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।(रासस)

सम्बन्धित खबर