कनकाई अनलाईन
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी परियोजना विद्युत र सडकको विकासका लागि आएको अमेरिकी सहयोग भएको बताउँनुभएको छ ।
नेपाली काँग्रेस भद्रपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा बोल्दै कांग्रेस नेता शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सवै प्रधानमन्त्रीले अमेरिकी सरकारसित मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको बताउँनुभयो ।
शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसद भित्र रहेका सवै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनताका माझ भ्रम छर्दै अमेरिकी सेना आउने हल्ला मच्चाएर झुटको खेती गरिरहेको आरोप शर्माले लगाउनुभयो । शर्माले देशको आफ्नो आम्दानीले मात्र देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको बताउँनुभयो । देशको मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर विजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको समेत बताउँनुभयो । शर्माले अमेरिका र चीनको अन्र्तद्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भ्रम फैलाइरहेको बताउनुभयो । काँग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनौट गरेको शर्माले बताउँनुभयो । फाष्टट्रयाक र अरूण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगमा निर्मित विकासको काम भएको शर्माले बताउँनुभयो ।
वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत शर्माले बताउँनुभयो ।
कार्यक्रममा नेकपा एमाले, राप्रपा लगायत दल त्यागेर दुइदर्जन बढी व्यक्तिहरू काँग्रेस प्रवेश गर्नुभएको थियो ।