कनकाई अनलाईन
नेपालका स्टार खेलाडी बिमल घर्तीमगर चम्केपछि झापा गोल्डकपमा आयोजक झापा ११ को टिम फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० गोल अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।
उपाधिका लागि झापाले सोमवार आर्मीसग खेल्दै छ ।
झापाको जितका लागि विमल घर्ती मगरले दुबै गोल गर्नुभएको हो । झापा गोल्डकपमा बिमलको गोल सङ्ख्या ४ पुगेको छ । बिमलले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गर्नुभयो । खेलको १६औँ मिनेटमा विमलले विदेशी खेलाडी आन्द्रेस नियाको क्रसमा गोल गर्दै अग्रता बनाउनुभयो । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गर्दै जित निश्चित पार्नुभयो ।
झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको थियो ।
खेलमा झापाले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा थप गोल हुन पाएन । ५५ औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाउनुभयो । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।
संकटाको तर्फबाट खेलको २३ औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलरक्षक दीपक कार्कीले बचाउनुभयो ।
३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाउनुभयो । ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाउनुभयो ।
शनिबारको खेलको प्लेयर अफ दि म्याच झापाका विमल घर्र्तीमगर हुनुभयो उहाँले नगद ९ हजार ९९९ पाउनुभयो ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।