Kanakai Online

जनचेतना प्रावि रजत बर्षमा प्रवेश


बुधवार, फागुन २५, २०७८ |

कनकाई अनलाईन
जनचेतना आधारभूत विद्यालयको रजत वार्षिक उत्सव उद्घाटन तथा अविभावक दिवस सम्पन्न भएको छ ।
२ दिनससम्म विविध कार्यक्रमका साथ सो कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिन प्रधानाध्यापक होमकुमारी कुमालको सभापतित्वमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई कक्षागत रुपमा क्रमसः चकलेट दौड, चम्चा दौड, बेलुन फुटाई, हिसाब दौड, विस्कुट टिपाई, स्कीपिङ दौड, २०० मिटर दौड जस्ता खेलकूदहरु गरि प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
दोस्रो दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका प्रसाद लामिछानेको सभापतित्व र नगर शिक्षा प्रमुख पिताम्बर गौतम ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस विद्यालयलाई चाडै २ वटा दरबन्दी दिने, विज्ञानप्रयोग शाला पनि बिस्तारै उपलब्ध गराउने वचन दिनु भएको थियो । त्यस्तै शुभकामना मन्तव्य दिदै सामाजिक व्यक्तित्व श्याम ओलिले यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपडा, जुत्ता र ब्याग जस्ता सामग्री उपलब्ध गराउने बचन दिनु भयो । त्यस्तै सामाजिक व्यक्तित्व शेर बहादुर थापाले विद्यालयको मञ्चको सम्पुर्ण कार्य पुरा गर्ने वचन दिनुभएको थियो । यस्तै गरि कनकाई मा.विका प्रधानाध्यापक कर्ण बहादुर डाँगी, संस्थापक सदस्य हिरण्य कुमार राई, सामाजिक व्यक्तित्वहरु मदनकृष्ण उप्रेती, शिक्षक महासंघको नगर अध्यक्ष शारदा प्रसाईआदिले विद्यालयको विकाशको लागि शुभकामना दिनुभएको थियो । सोहि अवसरमा दधिराम प्रसाई र नरमाया प्रसाईले आफ्ना ७ जना छोराछोरीको संरक्षकत्वमा रु १ लाख, लिलाराज उप्रेतीले आमा विष्णुमायाको स्मृतिमा रु १ लाख, लक्ष्मी प्रसाद र यसोधा भेट्वालले छोरा राजु भेट्वालको संरक्षकत्वमा रु १ लाख, अक्षयकोष हस्तान्तरण गर्नुभएकोमा विद्यालयले दोसल्ला र सम्मान पत्र दिई सम्मान प्रमुख अतिथिको बाहुलीबाट गरेको थियो ।
त्यस्तै कर्मचारी हरिप्रसाद खनालको स्मृतिमा कनकाई सामुदायिक उपभोक्ता समूहको संरक्षकत्वमा रु १ लाख ५ हजार अक्षयकोष पनि दिइने कुरा छ । त्यस्र्तै अवकाश प्राप्त ३ जना शिक्षकहरु अम्बिका उप्रेती, टिकामाया देवकोटा र सुमित्रा उप्रतीलाई पनि दोसल्ला सम्मान पत्र र मायाको चिनो दिई सम्मान गरिएको थियो । त्यसै अवसरमा अविभावक महिला तर्फको म्युजिकल चियरमा लिला प्रसाई प्रथम, अम्बिका इङनाम दोस्रो र समिक्षा चौधरी तेस्रो भएका थिए भने पुरुष तर्फको हण्डि फुटाई खेलमा पुरुषबाट हण्डि नफुटेपछि तुलसा सेढाई महिला तर्फबाट नै हण्डि फुटाई प्रथम हुनु भएको थियो । विजेता सबैलाई अध्यक्ष टिका लामिछाने र प्रधानाध्यापकबाट आकर्षक पुरस्कार वितरण गरिएको थियो भने अन्त्यमा अतिथि सम्पुर्ण महानुभावहरुलाई विद्यालयले रजत मायाको चिनो पनि वितरण गरेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक होमकुमारी कुमालबाट स्वागत मन्तव्यको साथ शैक्षिक प्रतिवेदन पेश गरिएको थियो भने शिक्षक कमला पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।