Kanakai Online

झापा गोल्डकप खेल आज थ्री स्टार बाहिरियो


मङ्गलवार, फागुन २४, २०७८ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी पाचौ झापा गोल्डकपमा संकटा क्लव काठमाण्डौले थ्री स्टार क्लवलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

मंगलवार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले टिमका लागि गोल गर्नुभयो । खेलको २५ औँ मिनेटमा विदेशी खेलाडी यानिकले गोल गर्दै संकटाको जितको आधार तयार गनुभयो भने दोस्रो हाफमा खेलको ६३ औ मिनेटमा संकटाका लागि फोडे फोफोनाले थप गोल गर्दै जित निश्चित गर्नुभयो ।
खेलमा निरिह बनेको थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर समेत सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै थ्री स्टार पराजित बन्न पुग्यो ।
४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गर्दा थ्री स्टार बराबरी गोलमा चुकेको थियो । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार थ्री स्टारका गोलरक्षक प्रिसोले बचाउ गर्नुभयो । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर समेत गोलरक्षकले सहजै नियन्त्रणमा लिनुभयो ।
मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की हुदै नगद ९ हजार ९९९ रुपैयाँ पाउनुभयो ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको हुदा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको भन्दै संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताउनुभयो ।
बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजक समितिका महासचिव गजेन्द्र पौडेलले बताउँनुभयो ।
आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो भने कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र रहनुभएको थियो ।
तस्वीर ः बलका लागि प्रतिस्पर्धा गर्दै थ्री स्टार र संकटाका खेलाडीहरु