कनकाई अनलाईन
संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत भएको हो ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेपनि आजको खेलमा संकटा भाग्यशाली रह्यो । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गर्दा पुलिस पहिलो खेलबाटै बाहिरियो ।
खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याउनुभयो ।
५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो ।
त्यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाउनुभयो । २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।
आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित हुदै नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गर्नुभयो । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार पाउने छन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ ।
प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
फोटो ः नेपाल पुलिस र संकटाका खेलाडीहरु प्रतिस्पर्धा गर्दै