Kanakai Online

कचनकवलका महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल


सोमवार, माघ १७, २०७८ |

कनकाई अनलाईन
गाउँ गाउँमा गई स्वास्य जनचेतना जगाउने तथा स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेका ६८ जना महिला स्वास्थ्य स्वयमसेविकालाई कचनकवल गाउँपालिकाले निशुल्क साईकल प्रदान गरिएको छ ।
झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा प्रवाहमा सजिलो होस भनेर गाउँपालिकाले साइकल उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक जागेश्वर यादवले बताउँनुभयो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सात जनासमेत ६८ जनालाई साईकल प्रदान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष अन्जार आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलगायतले स्वयंसेविकाहरुलाई साइकल हस्तान्तरण गर्नुभयो । गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयमसेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउँनुभयो । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको बस्नेतले बताउँनुभयो ।

सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयंसेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद सहित सम्मान समेत गरिएको छ ।

नयाँ साइकल पाउँदा जनताको काममा थप सहयोग मिलेको महिला स्वास्यमसेविकाले बताएका छन । स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको सम्मान गर्दै उनीहरुको काममा सहयोग पुगोस भनेर साईकल प्रदान गरिएको गाउँपालिका अध्यक्ष अन्जार आलमले बताउँनुभयो ।