कनकाई अनलाईन
दमक÷कलिलै उमेरबाट विद्यातर्थी राजनीतिमा होमिएर माओवादी आन्दोलनमा योगदान गरेका योद्धा हुन्, रवि बस्नेत । ३२ वर्षीय रवि क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष हुँदै झापाको नेतृत्व पनि गरिसकेका छन् ।
माओवादी केन्द्रको हालै सम्पन्न अधिवेशनबाट दमक अध्यक्षमा निर्वाचित भएका छन्, उनी । विद्यार्थी राजनीतिमा सांगठनिक कुसलता देखाएका बस्नेत प्रति पार्टीको ‘चाम’ फर्काउने चुनौती छ । वर्गीय धरातल बिर्सिएको पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन लागि परेका छन् ।
माओवादी केन्द्र दमकले युवाको नेतृत्व पाएपछि पार्टी पनि क्रमशः जुर्मुराउँदै अघि बढेको छ । पार्टीको अध्यक्ष भएको एक महिना पनि नबित्दै उनी दमकमा पार्टी सुदृढिकरणमा खटेका छन् । केही दिनअघि मात्र नगर किमिटीको बैठकबाट एक वर्षे कार्ययोजना पास गरेका बस्नेत योजना कार्यन्वयनमा जुटेका छन् । कार्ययोजना कार्यन्वयन स्वरूप सोमबारबाट नेकपा माओवादी केन्द्रले वडामा बैठक सुरु गरेको छ । सोमबार दमक–१ र २ नम्बर वडा कमिटीको बैठक सम्पन्न गरेको उनले बताए ।
अब लगातार पाँच दिनमा १० वटै वडामा बैठक गरेर कार्ययोजना कार्यन्वयनमा अघि बढ्ने उनले बताए । दमकले युवा नेतृत्व पाएपछि धेरै पार्टी कार्यकर्ता र जनता खुसी भएको बताए । तर, आफूले पाएको जिम्मेवारीमा अवसरसँगै चुनौती पनि रहेको उनको भनाइ छ । ‘अध्यक्ष भएपछि धेरैले आस गर्नुभएको छ । मलाई त्यो उहाँहरुको अपेक्षा पूरा गर्ने चुनौती पनि छ । केहीले युवाले नेतृत्व पायो काम गर्न ानसक्ने हो कि भनेर खबरदारी र आलोचना पनि गर्नुभएको छ । खबरदारी र आलोचनालाई पनि स्वीकार गर्दै विद्यार्थी राजनीतिको नेतृत्वदायी भूमिकामा रहँदा सिकेका कुरालाई पार्टी सुदृढिकरणको अभियानमा सदुपयोग गर्नेछ’, बस्नेतले भने । उनले पार्टीको अधिवेशनपछि कार्यकर्ता तहमा ऊर्जा आएको बताउँदै त्यो बचाइराख्न आफू लागि परेको बताए । पार्टीमा जनयुद्धको समयदेखि योगदान गर्नेको उचित सम्मान, उचित जिम्मेवारीसँगै नयाँ र युवा पुस्तालाई पनि जिम्मेवारी र अवसर दिँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।