कनकाई अनलाईन
दाङ तुलसीपुर– ३ रानागाउँका ३० बर्षिय ऋषि परियारले मेची देखि महाकाली सम्मको उल्टो पैदल यात्रा सुरु गर्नुभएको छ ।
शनिवारदेखि काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा गर्दै यस यात्राको सुरुवात गरिएको छ ।
२ महिना भित्रै महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने बताउँनुभयो । यस अघि समेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसक्नुभएका यी युवाले यसपटक भने स्वास्थ्य रहनका लागि दैनिक कम्तीमा एक घण्टा हिडनु अनिवार्य छ भन्ने स्वास्थ्य सन्देश लिएर नेपाल यात्रामा निस्किएको बताउँनुभयो । आफ्नो यस उल्टो यात्रामा समेत गिनिज बुकमा नाम लेखाउने परियारको लक्ष्य रहेको छ ।
स्वास्थ्यका लागि पैदल यात्रा नारा दिएका परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेका बताउँनुभयो । परियारलाई प्रदेश सांसद झलकसिंह दर्लामी लगायात स्थानीय राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, सामाजिक अभियान्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गर्नुभएको छ । यी दुई अभियान सफल पछि थप दुई विधामा समेत विश्व रेकर्डको आफु तयारीमा रहेको समेत परियारले बताउँनुभयो ।
नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउन आफुले यी सबै काम गरेको समेत परियारले बताउँनुभयो ।
यसैविच नेकपा माओवादी केन्द्र कनकाईका युवा नेतृत्वले सुरुङ्गामा पैदल यात्रीलाई भव्य स्वागत गरेका छन । संचारकर्मी सहितको टोलीले पैदलयात्रीलाई स्वागत गरिएको हो । वाईसिएल कनकाई नगर सचिव प्रदिप उप्रेती, माओवादी केन्द्रका कनकाई नगर उपाध्यक्ष दिलिप घतानी , माओवादी केन्द्रका कनकाई नगर सदस्य नविन सिटौला , माओावादी केन्द्रका वार्डनम्बर ७ का सचिव नरेन्द्र उप्रेती, प्रेस सेन्टरका जिल्ला सदस्य सिएम शर्मा लगायातले आज पैदल यात्रीलाई विदाई सहित शिवसताक्षी नगरपालिकासम्म पुर्याएका थिए ।