केशब चापागाई
झापा।जिल्लाको गौरादह नगरपालिकामा अधिकांस कृषकले धान बालीको सामूहिक खेती गर्दै आइरहेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासमा राज्यले सहयोग गर्न थालेपछी किसानहरुमा धान खेती तर्फ आकर्षण बढेको हो।
कृषि ज्ञान केन्द्र झापाको अनुमानीत तथ्यांक अनुसार गौरादह नगरपालिकामा नौ हजार तीन सय हेक्टर क्षेत्रफलमा धानको खेती हुँदै आएको छ।यहाँका किसानले चाक्लाबन्दी,पकेट,ब्लक क्षेत्र बनाई सामूहिक धान खेती गर्दै आइरहेका छन् ।हिँउदे धान काट्ने बित्तिकै चैते धानको रोपाई सुरु हुने गर्दछ।गौरादहका किसानको प्रमुख नगदेबाली नै धान रहेको छ।
गौरादह-१ का किसानको सामुहिक प्रयासमा ११५ बिगाहको धानको बीउ उत्पादन गर्दै पकेट कार्यक्रम पछी हाल ब्लक कार्यक्रमा फड्को मारेको गौरादह बीउ उत्पादक कृषक समूहका सदस्य खड्गराज थापाले बताए।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत धान ब्लक विकास कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र झापा तथा कृषक समूहको ५०/५० प्रतिशत लगानीमा कृषकलाई कृषि सामग्री वितरण गरेको उनले बताए।कृषकहरुलाई ट्याक्टर,थ्रेसर,रोटाभेटर,कल्टीभेटर ,मिल,स्प्रे ट्याङ्की,मोटर लगायतका कृषि सामग्री वितरण गरिएको छ।
कृषक थापाले कृषि ज्ञान केन्द्र झापाको सहयोग प्रती सन्तुष्ट रहेको बताए।´हामीले काम गरेका छौ।हाम्रो काम प्रती राज्यले उचित मुल्यांकन गरेको छ उनले भने।कृषक समूहलले १०० घर परिवार समेत स्वरोजगार बनेको थापाले बताए।
स्थानीय कृषक यामुना खड्काले कृषक समूह र राज्यको अनुदानले आफ्नो कृषि शैलीमा विकास भई जीवनस्तर उस्केको बताइन।उनले समूहबाट अनुदान स्वरुप दबाई हान्ने स्प्रे र मोटर पाएको बताइन।उनी खेती गर्न समूहले तालीम पनि दिने गरेको बताउछीन।अर्का कृषक टिकाराम चापागाईंले गौरादह नगरपालिकाले कृषि क्षेत्रमा उल्लेखनिय विकास गरेको बताए।उनले यहाँका कृषकहरुलाई विभिन्न कार्यक्रम ल्याएर बर्सेनि वीउबिजन,कृषि समग्री वितरण गरिएको बताए।
गौरादह नगरपालिका धान खेती तर्फ आक्रशण बढाउन कृषकलाई कृषि ज्ञान केन्द्र सँग समन्वय गरि विभिन्न चरणमा अनुदानका कार्यक्रमहरु संचालन गर्ने गरेको कृषि साखा प्रमुख समिता राईले बताइन।यता गौरादह-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले आफू निर्वाचित भएर आएपछी कृषि सम्बन्धी उल्लेखनीय प्रगती गरेको बताए।उनले निशुल्क पशु विमा,सामुहिक खेती,विदेशबाट स्वदेश फर्केका युवाहरुलाई खेती प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको बताए।
यता कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले गौरादह लगायत झापाका पालिकामा प्रभावकारी कार्यक्रम चलाएको बताए।उनले गौरादहमा पकेट तथा ब्लक धान खेती गर्ने १० वटा कृषक समूह ज्ञान केन्द्रमा आएको कार्यक्रमबाट लाभान्वित भएको बताए।कृषिलाई आधुनिकीकरण गर्दै अब ज्ञान केन्द्र बजारीकरणको समस्या सावधान तर्फ लागेको पनि उनले बताए।
