झापा, १० माघ -मेची अस्पतालले आजदेखि पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गर्ने केन्द्रलाई सफा र फराकिलो स्थानमा सारेर व्यवस्थित गरेको छ ।
विगतमा स्वाब सङ्कलन गर्ने स्थान अव्यवस्थित र फोहर स्थानमा रहेको सर्वसाधारणको गुनासो आएपछि आजैदेखि अस्पतालको ओपिडी कक्ष अगाडि सारिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो । उहाँले स्वाव सङ्कलनका लागि आउने सर्वसाधारणलाई भौतिक दूरी कायम गरेर पंक्तिबद्ध हुन र स्वास्थ्यकर्मीलाई स्वाव लिन सजिलो हुने गरी नयाँ स्थानको व्यवस्था गरिएको बताउनुभयो । डा.बाराकोटीले जिल्लामा कोभिड १९ को जोखिम बढिरहेको हुँदा अस्पतालमा दैनिक ७० जना बढीको पीसीआर परीक्षण गरिरहेको जानकारी दिनुभयो ।
यसअघि अस्पतालले स्वाब सङ्कलन गर्दै आएको स्थान साँघुरो, फोहर र अव्यवस्थित रहेको थियो । अस्पतालले विगतमा अनुपयुक्त भनेर प्रयोगमा नल्याएको जिर्ण भान्साकोठा, अस्पतालको प्रसूति गृह र आँखा उपचार कक्षका लागि प्रयोग हुँदै आएको शौचालयको सेफ्टी ट्याङ्की नजिक स्वाव सङ्कलन गर्दै आएको थियो । मेची अस्पतालले जिल्लामा दुई स्थान पीसीआर ल्याब सञ्चालन गर्दै आएको छ । एउटा अस्पतालमै र अर्को कनकाइ नगरपालिकास्थित कोटीहोममा सञ्चालनमा छन् । उहाँले हाल दुवै ल्याबमा गरी दैनिक २५० जनाको पीसीआर हुँदै आएको जानकारी दिनुभयो ।रासस