कनकाई अनलाईन
नयाँ–नयाँ भेरियन्टको कोभिड १९ संक्रमण दिनप्रतिदिन फैलिरहेकाले नेकपा एमाले झापाले सबै किसिमका पार्टी प्रवेश लगायातका राजनीतिक, सामाजिक, धार्मिकलगायतका भीडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गर्न आम जनसमुदायमा आग्रह गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ—आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई अग्रपंक्तिमा उभ्याउन अपिलसमेत गरेका छन् । संक्रमणका अघिल्ला चरणहरुमा हाम्रो पार्टीका समर्थक, शुभचिन्तक, जनप्रतिनिधि, कार्यकर्ता तथा नेतृत्व वर्गले जनस्तरमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसरी नै जनतालाई संक्रमणको जोखिमबाट बचाउन र यसले पार्ने नकारात्मक प्रभाव र चुनौतीको सामना गर्न सबै पक्षको एकता र सहयोगको उत्तिकै जरुरी छ ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीमा समेत कोरोना संक्रमण पुष्टि भएसगै एमालेले यस्तो अनुरोध गरेको हो ।