कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र मेचीनगरले सुत्केरीहरुलाई पौष्टिक खाद्य सामग्री उपलब्ध गराउने कार्य सुरु गरेको छ । मेचीनगर ७ का दुई जना सुत्केरीलाई आज माओवादी केन्द्रले पौष्टिक खाद्य सामग्री उपलब्ध गराएको हो ।
माओवादी केन्द्र मेचीनगरका तर्फबाट आज मेचीनगर ७ की सुत्केरी मुना हेमरमलाई आज पौष्टिक खाद्यान्न हस्तान्तरण गरिएको केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले बताउनु भयो ।
त्यस्तै आजै मेचीनगर ७ कै अर्की सुत्केरी सिता करुवालाई समेत पौष्टिक खाद्यान्न हस्तान्तरण गरिएको अध्यक्ष चिमरियाले जानकारी दिनु भयो ।
माओवादी केन्द्र मेचीनगरले एक जना सुत्केरीलाई एक प्याकेट ल्याक्टोजिन, एक केजी ध्यु, आधा केजीको हर्लिक्स र २५० ग्राम मिठाई उपलब्ध गराएको अध्यक्ष चिमरियाले बताउनु भयो । त्यस्तै नवजात शिशुको मुख हेरे बापत एक सय रुपैया नगद समेत उपलब्ध गराएको अध्यक्ष चिरियाले बताउनु भयो ।
माओवादी केन्द्रले मेचीनगर ७ र १४ नम्बर वडाका सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक खाद्यन्न उपलब्ध गराउने कार्यक्रम अनुसार नै आज मेचीनगर ७ का दुई जना सुत्केरी र नवजात शिशुलाई खाद्यान्न तथा नगद उपलब्ध गराएको केन्द्रका नगर सचिव ज्ञानेन्द्र घिमिरेले जानकारी दिनु भयो । सचिव घिमिरेका अनुसार एक जना सुत्केरीलाई करीब दुई हजार ५ सय रुपैया बराबरको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको छ ।
पहिलो चरणमा नगरका वडा नं। ७ र १४ मा सुत्केरी पोषण कार्यक्रम लागु गरिएको भए पनि पार्टी अन्य वडाहरुमा समेत पनि यो कार्यक्रमलाई बिस्तार गर्ने योजना रहेको केन्द्रका सहसचिव कृष्ण कौशल सिटौलाले बताउनु भयो ।