कनकाई अनलाईन
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल वडाअध्यक्ष प्रेम कटुवाल सहित धेरै कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि नगरपालिका कार्यालय एक साताका लागि बन्द गरिएको छ ।
कोरोना कहरको पहिलो र दोस्रो लहरमा समेत सावधानी अपनाएर बच्दै आउनुभएका पोखेरल कोरोना संक्रमित हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको नगरपालिका परिवारले जनाएको छ ।
उहाँको परिवारको सदस्यमा कोरोना संक्रमण देखा परेपछि उहाँलाई समेत कोरोना परिक्षण गराइएको थियो । आजै नगरप्रमुख पोखरेलको कोरोना परिक्षण गरिएको हो । आज कोटिहोम पिसिआर ल्याव कोटीहोममा गरिएको कोरोना परिक्षणमा कनकाई नगरपालिकामा मात्रै मेयर पोखरेल सहित १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मंगलवार कनकाई नगरपालिकामा गरिएको कोरोना परिक्षणमा सर्वाधिक ३१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जसमा कनकाई नगरपालिका ८ का वडाअध्यक्ष प्रेमप्रसाद कटुवाल समेतलाई कोरोना पोजेटिभ देखिएको छ । यो सगै कनकाई नगरपालिकाभित्र मात्रै २४ घण्टाभित्रै ४४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
कनकाई नगरपालिकामा मात्रै १५ जना कर्मचारी र मेयर पोखरेल, वडानम्बर ८ का वडाअध्यक्ष प्रेमप्रसाद कटुवाललाई कोरोना संक्रमण देखिएपछि नगरपालिका बन्द गरिएको कनकाई नगरपालिकाका सुचना अधिकारी हरिप्रसाद मिश्रले बताउँनुभयो ।
हाल कनकाई नगरपालिकाभित्र ७५ जना सक्रिय कोरोना सक्रमित रहेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।