Kanakai Online

कोटीहोम परिसरमा राष्ट्र गुरु योगी नरहरी नाथको शालिक अनावरण


शुक्रवार, पौष ३०, २०७८ |

सुरुङ्गा।झापाको कनकाई ४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा राष्ट्र गुरु योगी नरहरी नाथको शालिक अनावरण गरिएको छ ।

संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटीहोम परिसरमा आयोजना गरिएको एक विशेष समारोहका विच वैद्विक मन्त्रोचारणका साथ राष्ट्र गुरु योगी नरहरी नाथको शालिक अनावरण गरिएको हो । झापा क्षेत्र नं.४ का संघीय सांसद एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले शालिक अनावरण गरेका हुन् । नरहरी योगीको शालिक अनावरणसँगै कोटी हवन शान्ती कलश स्तम्भ समेत सिलान्यास गरीएको छ ।

पानीको फोहोरासहितको आकर्षक स्थल निर्माणकालागि कनकाईनगरपालिकाले १८ लाख रुपैंया खर्च विनियोजन गरेको थियो भने योगीको अर्ध कदको शालिक ईश्वर कृष्ण महाराजले सौजन्य गरेका हुन् । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि संघीय सांसद एलपी साँवाबाट प्राप्त ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । वर्तमान कार्यसमितिको पहलमा कोटीहोम परिसरमा विद्युत विस्तार, रंग रोगन, शिवलिङ्ग, नन्दी, घण्टी, गृल लगायतका सामाग्रीको व्यवस्थापन गरिएको बताइएको छ । कोटीहोम परिसरमा चाँडै १२ वटा सिसि क्यामरा जडानकालागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउँनुभएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको कोटीहोम परिसरमा राष्ट्रगुरु योगी नरहरी नाथको अगुवाईमा २०४२ साल पुष १ गतेदेखि २७ गते सम्म महायज्ञ संचालन भएको थियो । कनकाई नदिको पुर्वी किनारमा रहेको कोटीहोम क्षेत्र हाल क्रमिक रुपले विकास एवम् विस्तार भई पूर्वकै एक महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थलका रुपमा व्यवस्थित भएको छ । राष्ट्र गुरु योगी नरहरी नाथको अर्धकदको शालिक अनावरण गरेर कोटीहोम क्षेत्रमा नरहरी योगीको संझनालाई सधैं ताजा राख्ने उद्येश्य राखिएको संस्थाका अध्यक्ष नवलकिशोर दत्तले बताए । यस धार्मिक तथा पर्यटकीय क्षेत्र आसपासमा विभिन्न जातजातिका मठमन्दिर साथै दुई दर्जन बढी विभिन्न बन्धु समाजको सामुदायिक भवनका साथै पितृहरुको वंशावलीलाई व्यवस्थित गरिएको कोटीहोम धार्मिक विकास संस्थाका महासचिव डिल्लीराम बाह्रकोटीले बताए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले स्वागत तथा महासचिव बाह्रकोटी र कोषाध्यक्ष नरेन्द्र फुयालले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा संघीय सांसद एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, संस्थाका पुर्व सचिव दुर्गाप्रसाद खतिवडा, बोहोरा बन्धु सेवा समाजका अध्यक्ष देवेन्द्र बोहोरा लगायतले मन्तव्य राखेका थिए ।