केशब चापागाईं
शरणामती।कार्तिकमा आएको बेमौसमी हावापानीले धानबालीमा क्षती पुर्याएका किसानले अब राहत पाउने भएका छन।झापा लगायत झापा गाउँपालिकाका किसानहरुले पनि अब राहत पाउने भएका हुन।
बेमौसमी बर्षातको कारणले धानबालीमा क्षति भई राहत उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय, झापा तथा कृषी ज्ञान केन्द्रको पत्र बमोजिम बेमौसमी वर्षाको कारण धानवालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ बमोजिम मिति २०७८।०७।०९ गतेसम्म संकलन गरिएका धानबाली क्षतिको विवरणलाई मापदण्ड बमोजिमको ढाँचा र आवश्यक कागजातहरु सहित पठाउनु पर्ने भएकाले आवश्यक कागजातहरु सहित मिति २०७८।०९।२७ गते मंगलबार भित्र सम्बन्धित वडा कार्यालयमा अनिवार्य सम्पर्क गर्नुपर्ने झापा गाउँपालिका वडा नं ६ का वडा सचिव पुर्णचन्द्र मैनालीले बताए।यस अघि राहत पाउँ भनी विवरण टिपाएका नागरिकले मात्र राहत पाउने उनले स्पष्ट पारे।
राहत पाउनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,धानबाली खेती गरेको कित्ता नं. र क्षेत्रफल खुल्ने गरी जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी,अरु कसैको जग्गामा समझदारी वा करार गरी धान खेती गरिएको भए त्यस्तो धानबाली लगाइएको जग्गाको कित्ता नं. र क्षेत्रफल खुल्ने गरी जग्गाधनी प्रमाणपुर्जा र जग्गाधनी र किसानविच भएको करार सम्झौताको प्रतिलिपी वा जग्गाधनीले गरिदिएको कागज,बुँदा ३ बमोजिमको कागजात पेश हुन नसक्ने भएमा किसानले धान खेती गरेको जग्गााको चार किल्ला सहितको जग्गाको क्षेत्रफल र उपलब्ध भएसम्म जग्गाको कित्ता नं. खुलाई एक जना वडा सदस्य र धानबाली खेती गरेको जग्गा रहेको स्थानबाट नजिकका कम्तिमा तीन जना किसानको सनाखत सहित सम्बन्धित वडा कार्यालयको सिफारिस, किसानको बैँक खाता पुष्टी गर्ने चेक बुकको प्रतिलिपी सम्बन्धित वडामा पेश गर्नुपर्नेछ।