शरणामती/झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल ११ वर्षसम्म निर्माण सम्पन्न भएको छैन । पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल १ सय रुपैयाँसम्म रकम ठेकेदारले असुल्दै आएका छन् ।
विरिङ्ग खोलामा ४ बर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ बर्ष वितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन ।लामा मैनाचुली जेभीले २०६८ वैशाखमा १५ करोड ५० लाख मुल्यमा लिएको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । यसरी बर्षौं वितिसक्दा समेत काम नभएकोमा स्थानीय आक्रोसित बनेका छन् । ३ सय १९ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दा समेत पुल निर्माण भएको छैन ।
पुल नजिक हुलाकी सडकको काम धमाधम बन्न थालेको छ । तर पुल नबन्दा मानिसले बर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दा समेत हिड्दा पैसा तिर्नु पर्ने बाध्यता हट्न सकेको छैन । लामो समय पछि गत बर्ष एउटा स्पानमा ढलाई भएको छ । तर लकडाउन र बर्षाको कारण देखाउँदै रोकिएको काम अहिले सुस्त गतीमा चलिरहेको छ ।बर्षौ पछी चलेको काम अब दुइ बर्समा सम्पन्न गर्ने काममा खटिएका कर्मचारी बताउछन.
यता झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले पुलको विषयमा पटक पटक पहल गरेको बताएका छन् । झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ढेड दर्जन हाराहारीका पुल मध्ये धेरैजसो निर्माण भईसकेका छन् । तर मुख्य नदि र खोलामा झण्डै एक दशक अघि देखि बनाउन थालिएको कन्काई र विरिङ्गको पुल समयमा नवन्ने हो भने हुलाकी सडक संचालनमा आउन नसक्ने स्थानीयले बताएका छन् ।