कनकाई अनलाईन
जामुनबारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २६ औं वार्षिक साधारणसभाका अजसरमा तीनजना कर्मचारी सम्मानित भएका छन् भने चारजना कर्मचारीलाई विदाई गरिएको छ ।
साधारणसभाको अवसरमा उत्कृष्ट तीन कर्मचारीलाई सम्मानसहित अन्य चारजना कर्मचारीलाई ससम्मान बिदाई गरेको हो । सम्मानित हुने कर्मचारीहरुमा बन हेरालु तर्फका सीता चौधरी, चन्द्रध्वज माझी र गोविन्द बस्नेत रहेका छन् ।
त्यस्तै लामो समयदेखि वन समूहको विभिन्न जिम्मेवारीमा रहेर कर्मचारीका रुपमा कार्यरत चारजना कर्मचारीलाई सामुदायिक वनको कर्मचारी कार्यविधि अनुसार उपदानसहित ससम्मान विदाई गरिएको संस्थाले जनाएको छ । विदाई हुने कर्मचारीहरुमा नृपसिंह कार्की, विष्णु गिरी, गंगा गिरी र कमल घिमिरे रहेका छन् ।
कार्यक्रममा छात्रवृत्ति पाउँने विद्यार्थीहरुमा सरस्वती माविबाट कक्षा ८ मा अध्ययनरत छात्रा रेखा विष्ट र कक्षा ५ मा अध्ययनरत छात्र रोहन श्रेष्ठ रहेका छन् भने पञ्चकन्या प्राविको कक्षा तीनमा अध्ययनरत छात्रा सीमा कुमाल रहेका छन् ।सम्मानित सबैलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान गर्नुभएको हो । कार्यक्रम सामुदायिक वनका अध्यक्ष ख्याम सिटौलाको सभापतित्वमा भएको थियो । वन समूहका वरिष्ठ उपाध्यक्ष दिलकुमार राईले स्वागत तथा सचिव मनिता राई र सहसचिव पुजन बाह्रकोटीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी ,वन समूहका संस्थापक अध्यक्ष केदार गिरी, पूर्वअध्यक्ष एवम् कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरी, वडासदस्य नरादेवी मगर, सुकेडाँगी वन समूहकी अध्यक्ष शान्ती उपाध्याय घिमिरे, पूर्व सचिव ईन्द्र पुलामीमगर, पूर्व लेखा सदस्य खड्ग गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।