Kanakai Online

दमक कप भलिबल प्रतियोगिता सुरु


मङ्गलवार, पौष १३, २०७८ |

दमक। झापाको दमकमा जारी दोश्रो दमक कप भलिबल प्रतियोगितामा दमकले विजयी शुरुवात गरेको छ । उसले उपाधि दाबेदार कमल गाउँपालिकामाथी जित निकाल्दै विजयी शुरुवात गरेको हो । दमकले कमललाई सोझो सेटमा पराजित गरेको थियो । उसले कमललाई २५–१९, २५–२१ र २५–२२ को सोझो सेटमा पाखाँ लगाएको हो । जितसँगै दमकले गौरादह नगरपालिकासँगको भेट पक्का गरेको छ । यसअघि उद्घाटन खेलमा जित हात पार्दै भद्रपुरले उपाधि दाबेदार विर्तामोडसँगको भेट पक्का गरेको छ । भद्रपुरले बाह्रदशी गाउँपालिकालाई २५–१७, २६–२४ र २५–१७ को सोझो सेटमा पाराजित गर्दै विर्तामोडसँगको भेट पक्का गरेको हो । त्यस्तै अर्को खेलमा कनकाई नगरपालिकाले शिवसताक्षी नगरपालिकलाई २१–२५, २५–११, २५–१० र २५–२० ले पाखा लगाउँदा अर्जुनधारा नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई १७–२५, २५–२२, २५–१५ र २५–१९ ले पराजित गरेको छ । जितसँगै कनकाईले मेचीनगरसँगको भेट पक्का गरेको छ भने अर्जुनधाराले बुद्धशान्तिसँगको भेट पक्का गरेको छ । प्रतियोगिताको आज दमक नगरपालिकाको उप–प्रमुख गिता अधिकारीले परेवा उडाएर उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको विजेताले नगद एकाउन्न हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद एकतीस हजार प्राप्त गर्नेछ । दमक भलिबल संघले आयोजना गरेको सो प्रतियोगिताका खेल दमक–१ स्थित हिमालय माध्यामिक विद्यालयको खेलमैदानमा भइरहेको छ ।