शरणामती– झापाको झापा गाउँपालिका–६ शरणामतीमा सम्पन्न प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक झापा गाउँपालिकाले जितेको छ । उसले उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै उपाधि जितेको हो ।
जीतसँगै उपाधि विजेता झापा गाउँपालिकाले नगद एक लाख एकाउन्न हजार र ट्रफी हात पारेको छ । त्यस्तै उप–विजेता आमचोकले नगद एक लाख हात पार्यो । फाइनल खेलको म्यान अफ दि म्याच पराजित आमचोकका रोमन बस्नेत भए । उनले नगद एक हजार हात पारे । प्रतियोगिताको बेष्ट सेटरको उपाधि विजेता टोलीका सागर किरण भट्टराईले हात पारे भने बेष्ट स्पाइकरको उपाधि आमचोकका रोमन बस्नेतले हात पारे । त्यस्तै बेष्ट सर्भरको उपाधि झापाका रोशन शिवाकोटी र बेष्ट डिफेन्सको उपाधि झापाकै गणेश कट्वालले हात पारे भने उदीयमान खेलाडीको उपाधि आयोजक झापा गाउँपालिकाकै अनिष गणेशले हात पारे ।
उनीहरुले जनही नगद पाँच हजार पाँच सय प्राप्त गरे । त्यस्तै प्रतियोगिताको बेष्ट ब्लकर र सर्बोत्कृष्ट खेलाडीको उपाधि आयोजक झापाकै रोहित शिवाकोटीले हात पारे । उनले नगद सोह्र हजार पाँच सय हात पारे । प्रतियोगितामा प्रदेश एकका १६ टिमको सहभागिता रहेको थियो । जनता माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको थियो ।
खेल समितिका अध्यक्ष तेजप्रसाद भट्टराईले अध्यक्षता समापन भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पालिका प्रमुख जयनारायण साहले विजेता-उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए।समितिका सचिव मोहन मिश्रले संचालन गरेको कार्यक्रममा समाजसेवी,वुद्दीजिवी,स्थानीय लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।