झापा -‘हाम्रो पहिचान सन्थाल हो, सतार होइन’ भन्दै सन्थाल समुदायले झापाको भद्रपुरमा बुधबार दिउँसो बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
मोरङको सुनवर्षी नगरपालिका-१ स्थित केन्द्रीय कार्यालय रहेको रिलोमाला सन्थाली अखडा नेपालले सन्थाल जातिको अधिकार, अस्तित्व, इतिहास र पहिचानलाई तोडमोड गरी लेख र अभिलेख राखिएको विरोधमा चन्द्रगढी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्ना दिएका थिए।
झापा र मोरङका विभिन्न स्थानबाट सयौँ सङ्ख्यामा भेला भएका सन्थाल जातिका व्यक्तिले प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए।
र्यालीसहितको धर्ना कार्यक्रमपश्चात् रिलोमाला सन्थाली अखडा नेपालका अध्यक्ष श्यामलाल बेख्रा र सचिव हखन हास्दासहितको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई आठबुँदे मागसहितको ज्ञापनपत्र पठाएका छन्।
अध्यक्ष बेख्राले वाचन गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई बुझाएका हुन्।
‘ज्ञापनपत्रमा भनिएको छ, हामी यो देशका मूलवासी हौँ। हाम्रो पहिचान सन्थाल हो, सतार हैन। सन्थालको जात, धर्म, भाषा, संस्कार र संस्कृति स्पष्ट उल्लेख हुनुपर्छ। (सतार/सन्थाल) यस्तो हुनु हुँदैन। स्पष्ट रूपमा सन्थाल मात्र हुनुपर्छ। जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना रहनुपर्छ।
सन्थाल जातिको नागरिकतामा नाम र थर पछाडि अपहेलित तथा गलत शब्द सतार रहेकाले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायले अविलम्ब हटाई सुधारसहितको नागरिकता प्रदान गरियोस्।
वडा कार्यालयले कागजातका साथै नागरिकता प्रदान गर्ने सम्बन्धित निकायमा सिफारिस गर्दा सतार शब्द कहीँ कतै पनि उल्लेख नगरिनुपर्ने र राष्ट्रिय परिचयपत्रमा सन्थाल जाति स्थापित गरिनुपर्ने उल्लेख छ।
२०७८ को जनगणना तथ्याङ्कलाई आधार मानेर सन्थाल जातिबारे प्रकाशित लेख, रचना, पुस्तक, सामान्य ज्ञान, लोकसेवा आयोगको पुस्तक आदिमा सत्य तथ्य र वास्तविक कुरा आउनको निम्ति केन्द्रीय तथ्याङ्क विभागमा सन्थाल जातिको पहिचान र अस्तित्व स्पष्ट रूपमा उल्लेख हुनुपर्ने जनाइएको छ।
नेपाली शब्द भण्डारमा सतार र सन्थाल एउटै हो, जसको अर्थ लाज पचेको, लबस्तरो, नकचरो लेखिएको पनि उनीहरूले दाबी गरेका थिए। सम्पूर्ण सन्थालको अर्थ लाज शरम नभएको जात हो र भन्ने प्रश्न उठाउँदै यो अभिलेख अविलम्ब सुधार गर्नुका साथै सन्थाल मज्हिप्रगाना व्यवस्था लागु गरिनुपर्ने माग छ।
सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने सन्थालको जातीयताको इतिहास बदल्ने र समाजमा अपहेलित गर्ने प्रयास गरेकाले विरोधमा सडकमा उत्रिनुपरेको भन्दै अध्यक्ष बेख्राले आक्रोश पोखे।
‘सत्य मानवलाई लाज शरम भएको जाति भनेर परिभाषित गरिएकाले योविरुद्धको आवाज बुलन्द गर्दै नेपालको संविधानमा मौलिक हक अन्तरगत स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न अधिकार सुनिश्चित गरिनुपर्छ’, उनले भने। -थाहा खबरबाट