Kanakai Online

सहमती पछि खुल्यो अमरपथ सडक


सोमवार, मंसिर २७, २०७८ |

शरणामती,२७ मंसीर-सडक निर्माणमा ढिलाई गर्दा सास्ती भएको भन्दै बन्द गरिएको सडक खोल्ने सहमति भएको छ ।

ठेक्का लागेको दुई वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेको र अत्याधिक धुलो उडेको भन्दै अमरपथ सडक अन्तर्गत झापा गाउँपालिका क्षेत्रका बासिन्दा आन्दोलित बनेका थिए ।
झापाको कनकाई स्थित सुरुङ्गा खण्डको काम तिब्र गतीमा चलेको र झापा गाउँपालिका अन्तरगतको १६ किलो मिटर अमरपथ सडक निर्माणमा ढिला सुस्ती हुुँदा सडकले सास्ती भएको भन्दै स्थानीयले सडक नै बन्द गरेका थिए।

सडक बन्द गरे पछि आज बसेको सर्वपक्षीय भेलाले सडकमा पानी छर्केर तिव्ररुपमा काम गर्ने सहमति भएपछि सडक खुलाउने सहमति भएको स्थानीयले बासिन्दाले बताएका छन् ।

१६ किलोमिटरको ठेक्का लागेको यो सडक प्रदेश सरकारको बहुवर्षे योजना हो । ०७६ भदौमा चार वर्षभित्र सक्ने गरी पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा मैनाचुली–रोशन जेभीलाई ठेक्का दिएको थियो । तर, अहिलेसम्म ११ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय झापाले जानकारी दिएको छ ।

मैनाचुली निर्माण कम्पनी दमक नगरपालिकाकी उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य गीता अधिकारीका श्रीमान् मदन अधिकारीको हो । उनी एमाले अध्यक्ष तथा पूर्वप्रधनन्त्री केपी शर्मा ओली निकट निर्माण व्यवसायी हुन् । यो सडक मात्र हैन । यो सडकको केही दक्षिणपूर्वमा हुलाकी राजमार्गअन्तर्गत बिरिङ नदीमा पनि पुल निर्माणको ठेक्का लिएर एक दशकदेखि अधिकारी कै मैनाचुलीले पुल अलपत्र छाडेको छ । जसका कारण स्थानीयले हिउँदमा बाँसको पुलमा पैसा तिरेर र बर्खामा डुंगामा पैसा तिरेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

अमरपथ सडक निर्माणको ठेक्का लिएर मैनाचुली–रोशन जेभी आफैँले काम गरेको छैन । उसले सानो निर्माण कम्पनी झापाली बिल्डर्सका संचालनक शेरबहादुर थापालाई पेटी ठेक्का दिएका छन् । थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । ठेक्का लिएर नाफा खाँदै अर्को निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा दुई वर्षमा ११ प्रतिशत मात्र काम भएको स्थानीयको गुनासो छ । 

सम्बन्धित खबर