काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
जनताले नेतालाई ‘चोर’ भन्न थालेको बताएका छन् । उनले भने “गाउँतिर नेता गयो भने चौतारीमा नेता आउनुभएको छ भनेर गाउँलेलाई खबर हुन्छ । तर, जनताले कुन नेता भनेर सम्झदैनन् । कुन चोर आएछ भन्छन्,” लिङ्देनले भने, “हाम्रा राष्ट्रिय पार्टीहरूका लागि यो महिना महाधिवेशनको महिना भएको छ । यो महिना नेताको छवी सुधार होस् ।”
“सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन,” लिङ्देनले भने, “यो सबै सुधार गर्नुपर्ने राजनीतिक दलले हो । दलको अवस्था पनि राम्रो छैन। दल सुधार्ने नेताले हो । जनताले त्यस्तो नजरले हेर्न थालिसके ।” उनले यस्तो अवस्थाको विकल्प दिन कांग्रेस र राजनीतिक दलका अधिवेशन सफल हुन सकुन भन्दै शुभकामना दिएका थिए ।