कनकाई अनलाईन
प्रदेश २ को सप्तरी जिल्लाका सुकुमबासीलाई जग्गाधनी पूर्जा दिने काम तीब्र बनेको छ । अहिलेसम्ममा सो जिल्लामा १० हजार नागरिकलाई जग्गाधनी पूर्जा दिइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा अहिलेसम्म साबिकको ४९ वटा गाविसको नापनक्सा र लालपुर्र्जा जारी गर्ने काम सम्पन्न भएको छ । समय समयमा आएको आयोगको टोलीले पनि अनेक प्रलोभनमा पारी यहाँका जग्गा जमिन्दारकै नाममा दर्ता हुने र गरीब छुट्ने परिपाटीले आज पनि हजारांै सप्तरीवासी भूमिहीन, सुकुम्बासी नै रहेका छन् ।
सप्तरीमा गाउँ ब्लक जग्गाको प्रमाणपुर्जा ५० हजार नागरिकले पाउनुपर्ने तथ्याङ्क रहेको छ । जग्गाधनी प्रमाणपुर्जा वितरणमा नापी र मालपोतले अनलाइन प्रविधिले द्रुत गतिमा बढाएको कामले जग्गाकै कारण जिल्लामा सिर्जना हुने अधिकांश विवाद घट्दै जाने सरकारको विश्वास छ ।
सप्तरीको साबिकको गोइठी, सीतापुर्जार, प्रश्वनीको तयारी प्रमाणपुर्जा पुर्जा मंसिर मसान्तभित्र वितरण गरिसक्न र नाप नक्साङ्कन गर्न बाँकी रहेको २५ वटा गाविस अति शीघ्र सम्पन्न गर्न भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयलाई निर्देशन दिएको सो कार्यालयले जनाएको छ ।
यस्तै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ४ तथा तिरहुत गाउँपालिका–३ का गरी जम्मा ७०० नागरिकलाई जग्गाधनी दर्ता पुर्जा वितरण गरिएको छ । यस्तै सप्तरीको सीतापुरमा पनि बुधबार लालपूर्जा वितरण गरिएको छ । आफ्नै जग्गाको लालपुर्जा मन्त्रीको हातबाट पाउँदा सुकुमबासीहरु भावुक बनेका थिए ।
एक दशकभन्दा बढी समयदेखि सुरु भएको गाउँ ब्लक नाप नक्साको काम बुधबार सम्पन्न भएपछि त्यहाँका नागरिकलाई गाउँ ब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय सप्तरीले जनाएको छ । एक कार्यक्रमबीच त्यहाँका नागरिकलाई सो गाउँ ब्लक जग्गा धनी प्रमाणपुर्जा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले वितरण गरेकी हुन् ।
२०२१ सालदेखि झन्डै ६० वर्षसम्म यहाँका नागरिकले जग्गाको लालपुर्जा पाएका थिएनन् । सप्तरीबाट लालपुर्जा वितरण गर्ने सरकारको यो अभियानअन्तर्गत अब देशभर संचालन हुने मन्त्री श्रेष्ठले दाबी गरिन् । उनले अब कुनै पनि नागरिक जग्गाधनी दर्ता पुर्जाविहीन नरहने बताइन् ।