केशब चापागाईं
मदरगाछ,मंसिर १५।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाले हल्दीबारी गाउँपालिकालाई फराकिलो रनान्तरले पराजित गरेको छ।
झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आज बुधबार सम्पन्न खेलमा कनकाईले हल्दीबारीलाई १३३ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको कनकाईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
१७५ रनको विजयी लक्ष्य पछ्याएको हल्दीबारीले सबै विकेट गुमाई ४१ रन मात्र बनाउन सक्यो।
कनकाईका तर्फबाट सुजन गिरिले ३१ बलमा ३६ रन, प्रनिश बिमलीले ३० बलमा ५० रन र किस्मतले १९ बलमा ४६ रन प्रहार गरेका थिए ।हल्दीबारीको ब्याटिङमा विशाल भुजेलले ६ बलमा १२ रन जोडेका थिए भने अरु ब्याट्समेनले विजयी लक्ष्य पछ्याउन दर्बिलो अंक जोड्न सकेनन् ।
खेलमा म्यान अफ द म्याच कनकाईका किश्मत पौडेल घोषित भए।
प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता
प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/Screenshot-21.png)