Kanakai Online

अध्यक्ष कप क्रिकेट-शिवसताक्षीलाई पराजित गर्दै बिर्तामोड विजयी


मङ्गलवार, मंसिर १४, २०७८ |

केशब चापागाईं
मदरगाछ,मंसिर १४।
झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई पराजित गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा मंगलबार सम्पन्न खेलमा बिर्तामोडले शिवसताक्षीलाई ४९ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको बिर्तामोडले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

१४५ रनको विजयी लक्ष्य पछ्याएको शिवसताक्षीले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाई ९५ रन मात्र बनाउन सक्यो।

बिर्तामोडका तर्फबाट निर्मल परियारले ४२ बलमा ४७ रन,समीर कार्कीले १२ बलमा २७ रन र सुरज दुलालले ९ बलमा २१ रन प्राप्त गरेका थिए।शिवसताक्षीको ब्याटिङमा क्याप्टेन बिजय घिमिरेले ३६ बलमा ४४ रन जोडेका थिए भने अरु ब्याट्समेनले विजयी लक्ष्य पछ्याउन दर्बिलो अंक जोड्न सकेनन् ।

खेलमा म्यान अफ द म्याच बिर्तामोडका सुरज दुलाल घोषित भए।

प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह  “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।