कनकाई अनलाईन
मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्र्तगत झापामा १ एकहजार ४ सय ५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्ला जनगणना समन्वय समिति झापाले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार झापा जिल्लामा स्थलगत रूपमा २ सय ६५ जना सुपरिवेक्षक तथा एक हजार एक सय ८७ जना गणक मार्फत तथ्यगत विवरण संकलन गर्ने गरी जनगणनाको तयारी पूरा गरिएको जानकारी गराएको हो ।
जिल्ला जनगणना कार्यालयको प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५ सय घरपरिवारमा १० लाख भन्दा वढी जनसङ्ख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्ने छन् ।
जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार यस पटकको जनगणना अक्सर बसोवासका आधारमा हुने हुँदा जो जहाँ बसोवास गर्छ त्यसको गणना त्यहीँ हुने प्रावधान छ । प्रजिअ तिम्सेनाले स्थलगत रूपमा गणनाका लागि आउने कर्मचारीलाई सहयोग गरिदिन सवै सरोकारवालासित आग्रह समेत गर्नुभएको छ ।
कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुई वटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् ।
जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणि लुँइटेलका अनुसार जनगणनाको १२ औं शृंखला अन्र्तगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिने छ । जसमा ३७ वटा विवरण व्यक्तिगत विवरणका लागि तयार भएका प्रश्नावली हुने छन् । यी प्रश्नावलीले कृषि, रोजगार, आर्थिक अवस्था, स्थायी बसोवास, अस्थायी बसोवास लगायत राज्यका आय, व्यय तथा नीतिगत योजनाका लागि तथ्यगत विवरण निर्माण हुने छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले गर्नुभएको थियो ।
जनसङ्ख्या गणनामा अघिल्ला अभियानमा एक्कै स्थानमा बसेर तथ्याङ्ग लिने जस्ता गल्ती भएको पाइएकोले यसको अनुगमनका लागि समेत छुट्टै समिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । साथै पत्रकार सम्मेलनमा यहि जनगणनालाई आधार बनाएर देशको निति नियम समेत बनाइने भएकाले सत्य तथ्य सुचना दिएर नागरिकको कतव्र्य पूरा गर्न समेत प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सबै झापालीसमक्ष अनुरोध गर्नुभएको छ । आफु जहाँ बसोबास गरिरहेको छ त्यसबाट सबैले आफ्नो विवरण भर्न समेत तिम्सिनाले अनुरोध गनुभएको छ ।