झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको लागि चार दिने तालिमको सुरुवात भएको छ ।कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आज बुधबारबाट तालिम सुरु भएको हो ।
जिल्ला जनगणना कार्यालय दमक ख र कनकाइ नगरपालिका एवं झापा गाउँपालिकाको स्थानीय जनगणना कार्यालयको संयुक्त आयोजनामा शुरु भएको तालिमको एक कार्यक्रममा बिच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको अध्यक्षता स्थानीय जनगणना सहजीकरण समितिका संयोजक तथा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले गर्नु भएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु लगायतले तालिमको सफलताको शुभकामना दिनुभएको थियो ।नगरप्रमुख पोखरेलले तालिमबाट प्राप्त ज्ञान र जानकारीको भरपुर प्रयोग गरी राष्ट्रिय महाअभियानलाई सार्थक पार्न सबैमा अनुरोध गर्नु भएको थियो । कार्यक्रम संचालन स्थानीय जनगणना अधिकृत प्रेम न्यौपानेले गर्नुभएको थियो भने तालिम र जनगणनाको औचित्यमाथि प्रकाश पार्दै जिल्ला जनगणना अधिकृत प्रेम प्रसाद घिमिरेले कात्तिक २५ देखी मंसीर ९ गतेसम्म घरघरमा गएर गणकहरुले तथ्यांक संकलन गर्ने र त्यसमा सबै नागरिकले सहयोग गर्न अनुरोध गर्नुभएको स्थानीय जनगणना सहजीकरण समिति झापा गाउँपालिकाका सदस्य पूर्णचन्द्र मैनाली (उदय) ले कनकाई अनलाईनलाई बताउनु भयो ।