कनकाई अनलाईन
नेपाली राष्ट्रिय यू २३ फुटबल टोली एएफसी यू २३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा ४ गोल खाँदा टोली ४ ० ले पराजित भएको हो ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा इरानका लागि खेलको ४७ औं मिनेटमा मेहदीले गोल गरेका थिए । त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो । इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३(० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।
नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ । आज हुने समूहको अर्को खेलमा लेबनान र ताजिकिस्तान खेल्नेछन् । समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् ।
नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।
प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।