Kanakai Online

कनकाई नगरपालिकाकाे लगातार दाेस्राे जित,महालक्ष्मीलाई १९ गोल


शनिवार, कार्तिक ६, २०७८ |

झापा,कार्तिक ६ – कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा लगातार दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा उसले महालक्ष्मी नगरपालिकालाई शुन्यको विरुद्ध १९ गोलले हरायो । 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा कनकाईको जितमा कुशुम खतिवडाले ८ गोल गरिन भने दीपा शाहीले ५, सिमरन राई र ममता राउतले दुई दुई गोल गरे । गोलको बर्षा भएको खेलमा कन्काई खेलको सुरुवात देखि नै गोल गर्न सुरु गरेको थियो ।

पहिलो खेलमा पनि गोदावरी नगरपालिकालाई १२–० ले हराएको कन्काईले दोस्रो खेलमा झन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । 

३१ टिमको सहभागिता रहेको प्रतियोगितामा कनकाईले लगातार दुई खेलमा जित निकाल्दै तीन अंक बनाएको छ ।प्रतियोगिताको विजेता र दोस्रो हुने टिमले राष्ट्रिय लिगमा स्थान बनाउनेछन । 

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।

यता, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै, प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।

सम्बन्धित खबर