Kanakai Online

झापामा हावाहुरी सहित परेको पानीले धानबालीमा क्षती,किसान चिन्तित


सोमवार, कार्तिक १, २०७८ |

झापा,कार्तिक १ – दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी हावाहुरी सहित परेको पानीले झापाको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ ।

झापा गाउपालिका-७ का छत्र पाण्डेले पाँच बिगाहा खेतमा लगाएको धानबाली हावाहुरी र वर्षाले सखाप पारेको बताए । ‘धान पाक्न लागेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी हावाहुरी सहित वर्षा सुरु भयो,सबै धान लडायो । वर्षभरिको मेहनत खेर गयो,’ उनले भने ।

धेरैजसो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ ।झापामा अधिकासले लगाएको धानबाली वर्षा र हावाहुरीले नोक्सान पुर्‍याएको छ । ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षा र हावाहुरीले ले सबै नष्ट गर्‍यो,’ झापा-६ का स्थानीय मोहन पोखरेलले बताए ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा ५ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

सम्बन्धित खबर