Kanakai Online

कनकाईमा व्यावसायिक फुटबलर उत्पादन गछौ, खेल समिति अध्यक्ष लम्साल


शुक्रवार, असोज १५, २०७८ |

कनकाई अनलाईन

कनकाई नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले कनकाई नगरपालिकामा व्यावसायिक फुटबल खेलाडीको उत्पादन गर्ने बताउँनुभएको छ ।


आज कनकाई नगर खेलकुद विकास समितिद्धारा होटल डिलाइटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद अध्यक्ष लम्सालले अब कम्तीमा पनि कनकाईका खेलाडीहरु उप्रेक्षित हुनुपर्ने दिनको अन्त्य गर्ने बताउँनुभयो ।

यस अघि खेल र मनोरन्जनका लागि खेलहरु आयोजना गरिने गरिएको पुरानो परम्परा तोडदै खेलकुद विकास समितिले इतिहासमै प्रथम पटक खेलाडीहरुको छनौट, स्तरीकरण र व्यावसायिकताका लागि कनकाई माविमा प्रथम पटक कनकाई नगर स्तरीय फुटबल प्रतियोगिताको आयोजना असोज १७ गते आइतवारदेखि गरेको बताउँनुभयो ।


खेलमा बिजयी हुने टिमले ५१ हजार , दोस्रो हुने टिमले ३१ हजार र तेस्रो हुने टिमले समेत १० हजार रुपैँया पाउने प्रतियोगिताबाट खेलाडी छनौट समेत गरेर कनकाई नगर पालिका स्तरीय खेलाडी छनौट गरि क्लोज क्याम्पमा राखिने समेत खेलकुद विकास समितिका अध्यक्ष लम्सालले बताउँनुभयो ।
कनकाई नगरपालिका स्थापना भएपछि पहिलो पटक कनकाई नगरपालिकाकै आयोजनामा वार्डस्तरीय फुटबल प्रतियोगिताको आयोजना भएसगै कनकाईमा फुटबल खेल क्षेत्र मलिलो बन्ने विश्वास नगरवाशीले गरेका छन ।

कनकाई नगरपालिकामा यसअघि कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा यस प्रकारको खेल आयोजना गर्ने गरेकोमा यस बर्ष भने नगरपालिकाले कुनै संघ संस्था भन्दा पनि आफै खेलको आयोजना गर्ने भएको हो । यस प्रतियोगिता संचालन गर्न नगर खेलकुद विकास समितिले गोविन्द उप्रेतीको संयोजकत्वमा मुल आयोजक समिति समेत बनाएको छ ।

खेल कनकाई माविको खेल मैदानमा हुनेछ । हाल कनकाई माविको खेल मैदानमा दिलमाया स्मृति कप खेल हुदै छ । यस वार्ड स्तरीय खेल सकिनसाथ कनकाई खेलकुद प्रतिष्ठानले समेत पुन वार्ड स्तरीय फुटबल नै खेलाउन लागेको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडाले बताउँनुभयो । यसरी महिनादिन भित्रै वडास्तरीय ३ वटा फुटबल गेम कनकाई माविको चौरीमा हुने भएपछि यस क्षेत्रका दर्शक र खेलाडीलाई भने फाइदा पुगेको छ ।

सम्बन्धित खबर