सरोज पौडेल,झापा । प्रदेशकै पहिलो बालमैत्री नगर बनेको झापाको भद्रपुर नगरपालिकामा एक बालिकामाथि भएको निर्घात कुटपिटको घट्नाप्रति बिरोध जनाउँदै बाल संगठनहरुले कुटपिट गर्नेलाई कार्वाहीको माग गरेका छन् ।
भद्रपुर नगरपालिका ५ निवासी १२ वर्षीया राजवंशी थरकी एक बालिकामाथि बालमैत्री नगरभित्रै हिंसात्मक घटना भएको थियो। सुनसरी इनरुवा नगरपालिका ६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हातमा खम्बामा बाँधेर अनुहार र शरीरभरि निलडाम हुने गरी निर्घात कुटपिट गरेको फोटो अहिले सामाजिक संजालमा छाएको छ ।
घटना असोज ४ गते सोमबार दिउँसो साढे १२ बजेको हो । बालिकामाथि कुटपिट गरेको दृश्य स्थानीयवासीले प्रत्यक्ष रुपमा देखेका थिए । पौडेल भद्रपुर ५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्ममा रेखदेखका लागि काम गर्दै आइरहेका छन् । फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि निर्घात कुटपिट गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
कुटपिटमात्र नभइ तस्वीरमा वालिकाको हात प्लाष्टिकले बाँधिएको देखिन्छ । घटना भएलगतै परिवारका सदस्य वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिएका थिए । प्रहरीले घटनाको विषयमा जानकारी पाउनासाथ पौडेललाई घटनास्थलबाट पक्राउ गरी ल्याएको थियो । तर, कार्वाही नगरी छाडेको थियो । बालिकालाई उद्धार गरी मेची अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थियो ।
नगर बाल सञ्जाल भद्रपुरले दोषी पौडेलमाथि कडाभन्दा कडा कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको छ । सञ्जालकी अध्यक्ष आरध्या प्याकुरेल र सचिव राजेश मिश्रले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा सो उजुरी दर्ता गराएका छन् । सो उजुरीलाई प्रशासन कार्यालयले मुद्धा शाखामा दर्ता गरेर कानुनी कार्वाही अगाडि बढाउने बताए पनि हाल सम्म कुनै सुनुवाइ भएको छैन ।
बालिकाको परिवार लाई १ लाख रुपैयाँ दिएर घटना लाई गुपचुप राख्न परिवार लाई बाध्य पारिएको श्रोतले बताएको छ ।यसै विषयमा जिल्लाका बालक्लब र बालबालिका जन्य संगठनले बिज्ञप्ति मार्फत कारबाहीको माग गरेका छन् ।


