कनकाई अनलाईन
बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी तथा आवद्ध श्रमिक कर्मचारीलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
संघकोतर्फबाट अध्यक्ष प्रकाश शिवाकोटीले बिर्तामोड नगरपालिकालाई खोप उपलब्ध गराउन मागसहित ध्यानाकर्षण गराएका छन् । गत जेठ ३१ गते नै संघले खोपका लागि सरोकारवाला निकायसँग माग गर्दै ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नभएको शिवाकोटीको गुनासो छ ।
मंगलवार पुनः संघले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएको हो । यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति र १ नं. प्रदेश समितिलाई समेत बिर्तामोड उद्योग वाणिज्य संघले खोप उपलब्धतताका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको थियो । ‘संघले सरोकारवालाहरुलाई पटक–पटक खोप माग गरेर ध्यानाकर्षण गराइरहेको छ’– अध्यक्ष शिवाकोटीले भने– ‘अबको विकल्प लकडाउन होइन, कोरोनाबाट बच्न सबैलाई खोप उपलब्ध गराउनु जरुरी छ ।’
कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि सरकारलाई सहयोग पु¥याउन संघले सामाजिक उत्तरदायित्व समेत अग्रणी रुपमा वहन गरिरहेको स्मरण गराउँदै शिवाकोटीले उद्योग व्यवसाय सहज सञ्चालनका लागि उद्योगी–व्यवसायी र आवद्ध र श्रमिक कामदारलाई खोप लगाउनुको विकल्प नभएको बताएका छन् । उनले पहिलो चरणमा अत्यावश्यक उद्योग–व्यवसाय र त्यसका अग्रपंक्तिमा रहने व्यवसायी तथा आवद्ध श्रमिक कामदारलाई तत्काल खोप उपलब्ध गराउन माग गरेका हुन् ।
मुलुक सञ्चालनको मेरुदण्ड, आर्थिक क्षेत्रलाई नेतृत्व गरिरहेको उद्योग–व्यवसाय सञ्चालनका लागि तत्काल खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । महामारीका कारण संकटबाट गुज्रिरहेको उद्योग–व्यवसायको सहज सञ्चालनको वातावरण सृजना गरी मुलुकलाई सामान्य जीवनतर्फ फर्काउन खोपको व्यवस्थापन निर्विकल्प भएको उनले बताए । संघले उद्योगी–व्यवसायी संघ समन्वय गरेर १० लाख डोज खोप खरिद गर्ने पहल समेत गरेको थियो । संघका सदस्य तथा समुदायका लागि खोप उपलब्ध गराउन आफूहरुले पहल गरे पनि सरकारले निजी क्षेत्रलाई खोप खरिद गर्न नदिएको र सरकारले पनि हालसम्म उद्योगी–व्यवसायी तथा आवद्ध श्रमिक कर्मचारीलाई खोप नदिएर उपेक्षा गरेको अध्यक्ष शिवाकोटीले बताए ।