Kanakai Online

घृणाको राजनीतिका तीन तस्वीर


बुधवार, साउन ६, २०७८ |

कनकाई अनलाईन
५ साउन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनासँगै सडकमा आएको नेकपा एमाले सम्वद्ध युवा संघ नेपालले मंगलबार बानेश्वरमा क्षेत्रमा प्रदर्शन गर्दै अदालत, गठबन्धन सरकार र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा लगायो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली अदालतको फैसलाबाट पदच्यूत हुनु पर्दाको आक्रोस प्रदर्शनमा देखिनु अस्वभाविक होइन । तर युवा संघको प्रदर्शन त्यतिमा सीमित रहेन, घृणाको राजनीतिको चरुम रुप उसका प्रदर्शनहरुमा देखिन थालेको छ ।

लोकतन्त्रमा सत्ता र प्रतिपक्ष हुन्छ । राजनीतिमा पक्ष र विपक्ष हुन्छन् । एउटै दलभित्र पनि फरक मत हुन्छन् । सामान्यतः वैचारिक संघर्ष हुन्छ र इतर पक्षलाई कमजोर सावित गर्ने प्रयास हुन्छ ।


तर, एमालेमा चलिरहेको अन्तरसंघर्षमा ओली समूह निकट युवा संघको प्रदर्शनहरु त्यो भन्दा पर पुगेको देखिन्छ । मंगलबारको प्रदर्शनमा सहभागीहरुले बाँदरको आकृति भएको मास्क लगाएका थिए र अदालत, गठबन्धन सरकार र माधव नेपालले बादरे प्रवृत्ति देखाएको भन्दै नारा लगाएका थिए ।

यही समूहले सोमबार सांकेतिक दाहसंस्कार गरेको थियो । त्यसअघि प्रधानन्यायाधीशसँगै नेता नेपालको पुत्ला जलाएको थियो । यसले पार्टीका पूर्व प्रमुख र पूर्व प्रधानमन्त्रीविरुद्ध ओली पक्षीय कार्यकर्तामा घृणाको राजनीति जबरजस्त बढ्दै गएको छ भन्ने देखाउँछ ।

‘गद्दार माधव’

गद्दार कम्युनिष्ट आन्दोलनको आदिम शब्द भएको टिप्पणी गर्छन्, जसपा नेता तथा लेखक डम्बर खतिवडा । लेनिन र स्टालिनहरूले यो शब्द धेरै प्रयोग गरे । कम्युनिष्ट आन्दोलनमा गद्दारको आरोप लगाइएका अधिकांश नेताहरूमाथि भौतिक हमला नै भयो र कतिपय त मारिएको पनि खतिवडा सम्झन्छन् ।

नेपालमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ भनेर पुस्तक नै लेखे । पछि माले समूहले पनि पुष्पलाललाई गद्दार भन्दै कांग्रेसको पुच्छरको रुपमा चित्रित गर्‍यो । माओवादी आन्दोलनबाट आएकाहरुले पनि एकअर्कालाई गद्दार भने । कम्युनिष्ट आन्दोलनमा मन नपर्ने मान्छेलाई सजिलै गद्दार भन्ने गरिएपनि लोकतान्त्रिक संस्कारमा यसलाई सामान्य परिघटना नमानिने खतिवडाको तर्क छ ।

प्रधानमन्त्रीबाट पदच्युत भएर बालकोट फर्किएका अध्यक्ष ओलीले बार्दलीबाट माधव नेपाललाई गद्दार घोषणा गरे । आफ्नो सरकार ढाल्न नेता नेपालले अगुवाई गरेकाले उनी कम्युनिस्ट आन्दोलनको गद्दार भएको ओलीको भनाइ थियो । त्यससता उनी निकट समूहले लगातार सडकमा यही नारा लगाउन थालेको छ ।

शव दाहको ‘प्रहसन’

एमाले एकताका प्रयास भइरहेका बेला पार्टी अध्यक्ष ओलीले गद्दार घोषणा गरेपछि नेता नेपालले थप चिढिए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा आफूसहित एमालेका २२ सांसदलाई भोट दिन लगाए ।

त्यसको भोलिपल्ट ओली पक्षीय युवा संघको समूहले नेता नेपालविरुद्ध प्रदर्शन गर्‍यो । ‘फ्लोर क्रस’ गर्ने सांसदहरु मरे सरह भएको भन्दै उनीहरुले नेता नेपालको निर्वाचन क्षेत्रमा शव दाहसंस्कारको प्रदर्शन गरे ।

बाँदलको हुलिया

युवा संघले मंगलबार बानेश्वर क्षेत्रमा प्रदर्शन गर्‍यो, जसमा उनीहरु आफैं बाँदरको हुलियामा प्रस्तुत भए । अदालत, विपक्षी गठबन्धन र पार्टीमा बाँदेर प्रवृत्ति देखिएको भन्दै प्रदर्शन गरेका उनीहरु आफैं बाँदरको हुलियामा प्रस्तुत भएका हुन् ।

सामान्यतया मानिसले आफूलाई श्रेष्ठ प्राणी सावित गर्न पशुलाई प्रतीकमा रुपमा चित्रित गर्ने प्रचलन तोडिएको छैन । भेडा, कुकुर, बाँदर आदि बिम्ब प्रयोग गरी राजनीति गर्ने अभ्यासलाई पिछडिएको चेतनाको द्योतकमा रुपमा समेत लिने गरिन्छ । ‘गल्ती मान्छेले गर्छ, दोष पशुलाई दिइन्छ,’ ओली समूहकै एक नेता भन्छन्, ‘खुलेर बोल्न अप्ठ्यारो छ, तर हाम्रो राजनीतिले गलत बाटो समातेको छ ।’

०५४ मा त्यो घृणा

अहिले एमालेमा जस्तो गतिविधि र आरोपको प्रतिश्पर्धा चलेको छ । अन्य दलहरुमा जस्तै एमालेले पनि त्यस्तो नियति बेहोरेर आएको हो । जस्तो– एमालेले ०५४ मा पनि विभाजन भोगेको थियो र त्यसबेला पनि आममानिसले बुझ्नेगरी घृणाको राजनीति भएको थियो । त्यसबेला पनि भित्तेलेखन, पर्चा वितरण देखि आमसभाबाट व्यक्तिगत आक्षेप लगाउन नेता–कार्यकर्ताहरुबीच प्रतिश्पर्धा नै चल्यो ।

पार्टी विभाजन गरेर माले गठन गरेका वामदेव गौतमलाई ‘एक नम्बरको भ्रष्टाचारी’ घोषणा गरियो । त्यसका निम्ति एमालेका नेताहरुले देशभरबाट कार्यकर्ता टुँडिखेलमा भेला गरेका थिए । वामदेव सिध्याउने र एमाले बनाउने उद्देश्य आयोजित त्यो सभा र घोषणा गरियो । ‘विशेष घोषणा गर्ने भनेर रातारात ठूलो खर्च गरेर देशभरका कार्यकर्ता टुँडिखेलम ल्याइयो । तर अहिले त्यो घोषणा नेताहरु सम्झन समेत चाहँदैनन्’, एमाले केन्द्रीय सदस्य ठाकुर गैरै भन्छन् ।

पछि एमाले र माले मिल्यो । एकअर्का विरुद्ध आक्रमण र आरोपप्रत्यारोप गरेका नेताहरु एउटै पार्टीका सहयोद्धा बने । तर पार्टी विभाजनको आवेगमा भने राष्ट्रिय राजनीति विकृत हुने गतिविधि भएको थियो । कतिसम्म भने एकअर्काको सभा बिथोल्ने, शीर्ष नेताहरुमाथि आक्रमण गर्ने जस्ता गतिविधि समेत भयो ।

जस्तो– कावासोतीमा तत्कालीन मालेका महासचिव वामदेव गौतमको सभा बिथोल्न टीन ठट्याउने, ढुंगामुढा प्रहार गरियो । कावासोतीमा वामदेव गौतमले सभा बिथोलियो । तर यसको बदला एमाले नेताहरुले पनि खेपे । बुटवल क्याम्पसमा मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली लगायत माथि आक्रमण भयो । ‘हुँदै नभएको आरोप लगाउने, अराजनीतिक रुपमा प्रस्तुत हुने जस्ता कामहरु त्यसबेला भएको थियो’, गैरे सम्झन्छन् ।

कांग्रेसमा गालीगलौज कम

एमाले फुटेको केही वर्षपछि नेवाली कांग्रेस पनि फुट्यो । २०५९ सालमा कांग्रेस विभाजन गरेर शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्‍यौं । त्यसबेला कांग्रेस प्रजातान्त्रिकको प्रवक्ता बनेका होमनाथ दाहाल भन्छन्, ‘हामीले कहिल्यै पनि तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध गालीगलौच गरेनौं । गिरिजाबाबु मात्र होइन, अरु नेताहरुविरुद्ध पनि हाम्रो पार्टीका नेताहरुले सार्वजनिक रुपमा विरोध गर्ने काम गरेनन् । उनीहरुले पनि व्यक्तिगत लाञ्छना, चरित्र हत्या गर्नेगरी, आरोपप्रत्यारोप लगाउने काम गरेनन् ।’

बहालवाला प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्यबाट हटाएपछि आफूहरुले नयाँ पार्टी बनाएको स्मरण गर्दै दाहाल भन्छन्, तर हामीले मर्यादा नाघेर नेताहरुविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिने काम कहिल्यै भएन । नेता कार्यकर्ताहरुबीच झडपका घटना पनि भएनन्, बरु देशव्यापी बहस गर्‍यौं ।’

सम्बन्धित खबर