Kanakai Online

पारुखुपीको स्तम्भ भत्काइयो


मङ्गलवार, साउन ५, २०७८ |

कनकाई अनलाईन
झापा जिल्लाको पुरानो बजार पारुखुपीको इतिहासलाई प्रतिनिधित्व हुनेगरी निर्माण गरिएको परेवाको स्तम्भ उद्घाटन नहुँदै भत्काइएको छ ।

निर्माण सम्पन्न भइसकेर केही दिनपछि उद्घाटन गरिन लागिएको स्तम्भको तल्लो भाग अज्ञात व्यक्तिले भत्काइदिएको हो । हल्दिबारीका कार्यपालिका सदस्य खगेन राजवंशीले पहिचान विरोधीले त्यस्तो गलत काम गरेको हुनसक्ने बताउँदै भत्काउनेको खोजी भइरहेको जानकारी दिनुभयो ।

राजवंशी भाषामा पारु अर्थात परेवा र खुपी अर्थात खोर भन्ने बुझिन्छ । परेवाको खोर रहेकै कारण पारुखुपी नामाकरण भएको यस ठाउँको इतिहासलाई जोगाउन परेवा अंकित स्तम्भ निर्माण गरिएको हो । यस ठाउँमा रहेको दुर्गा मन्दिरको डाँडामा पहिले परेवाहरु गुड लगाएर बस्थे । त्यसकारण तत्कालिन जमिन्दारहरु मुत्तु गणेश, खलाकुटु राजवंशीसहितका ब्यक्तिहरुले यस ठाउँको नाम पारुखुपी राखेको भनाइ सुन्न सकिन्छ । हल्दिबारी गाउँपालिका वडा न. २ को पारुखुपी बजार चोकमा पारुखुपीको ईतिहासलाई लोप हुन नदिन परेवा अंकित स्तम्भको गत जेठ १२ गते संविधानसभा सदस्य तथा प्रदेश सांसद पूर्णप्रसाद राजवंशी र संविधानसभा सदस्य मोहन टुडुले संयुक्त रुपमा शिलान्यास गरेका थिए । हल्दिवारी २ नं वडा कार्यालयको आर्थिक वर्ष ०७७÷०७८ को विनियोजित ४ लाख बजेटबाट सो स्तम्भ निर्माण गरिएको कार्यपालिका सदस्य राजवंशीले बताउँनुभयो ।

सम्बन्धित खबर