कनकाई अनलाईन
नगर शिक्षा शाखा अन्र्तगत विभिन्न शिर्षकमा आएको बजेट फ्रिज भएको भन्दै अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा आइतबार लगाइएको ताला खोलिएको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाहरुको बैठकमा सो समस्या समाधान गर्न सहभागीहरु सहमत भएपछी कार्यालयमा लगाइएको ताला खोलिएको प्रमुखका सचिवालयले जानकारी दिए ।
बैठकमा सहमत भएको निर्णयहरुमा अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति सुधार कार्यक्रमलगायत विभिन्न आयोजनाहरुको समयमा भुक्तानी नभएको सम्बन्धमा के कति कारणले उक्त समस्या उत्पन्न भएको हो प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र छानविन गरि नगर कार्यपालिकामा प्रतिवेदन दिनुपर्ने, विविध प्राविद्यिक कारणले गत आर्थिक वर्ष ०७७र०७८को अन्तिम समयमा भुक्तानी हुन नसकेको आयोजनाहरुको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त वित्तीय स्रोत व्यवस्थापन गरि चालु आर्थिक वर्षको वित्तीय कारोबार सञ्चालन हुने पश्चात्९भदौ १५ गतेभित्र० व्यवस्था मिलाउने र विविध कारणले सामुदायिक विद्यालयको रोक्का गरिएको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था नगरपालिकाले गर्ने रहेको छ ।
उक्त बैठकमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, लेखा अधिकृत रामचन्द्र घिमिरे, नेकपा एमालेका प्रतिनिधि प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका प्रतिनिधि हेमराज खरेल, माओवादी केन्द्रका प्रतिनिधि नारद दुःखी, राप्रपाका प्रतिनिधि लवकुश गिरीलगायतको सहभागिता रहेको थियो ।