कनकाई अनलाईन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टीबाट को मन्त्री बन्लान् भन्ने विषयले चर्चा पाएको छ ।
देउवाको सरकारमा अहिले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । सरकारमा कुन पार्टीले कुन कुन र कतिवटा मन्त्रालय लिने भन्ने विषय टुंगो लागेको छैन । तर, हालसम्म कांग्रेस ८, माओवादीले ७ र बाँकी जनता समाजवादी पार्टी र जनमोर्चासहित माधव नेपाल पक्ष सरकारमा आएको खण्डमा दिने तयारी छ ।
यसअनुसार माओवादीबाट अब ५ जना मन्त्री थप्नेछन् । माओवादीका अध्यक्ष प्रचण्डको निवास पुग्नेहरुले अहिले अहिले केही व्यक्तिहरुको नामै किटेर मन्त्री बन्ने सांसदहरुको अनुमान गरिरहेका छन् ।
माओवादी केन्द्रबाट मन्त्री बन्न अहिले खुमलटार धाउनेको पनि भीड बढेको छ । तर सो विषयमा पार्टीले निर्णय लिने भन्दै अध्यक्ष प्रचण्डले कसैलाई आश्वासन दिएका छैनन् ।
माओवादीले अहिलेको सरकारमा खड्गप्रसाद ओली नेतृत्वको सरकारमा सहभागी नभएकाहरुमध्येबाटै मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ । खुमलटार पुग्ने नेता कार्यकर्तादेखि पार्टी मुख्यालय पेरिसडाँडामा माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्ने सम्भावित व्यक्तिहरुको नामको विषयमा चर्चा छ ।
अहिले भइरहेको चर्चा अनुसार माओवादी केन्द्रको तर्फबाट अब देवेन्द्र पौडेल मन्त्री बन्ने पक्कापक्की छ । पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् ।
त्यसैगरी माओवादी नेता हितबहादुर तामाङलाई पनि मन्त्री बनाउने तयारी छ । उनी बागमती प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । तामाङ माओवादी केन्द्र बागमती प्रदेशको सहइन्चार्ज पनि हुन् । उनले पटक–पटक अर्थमन्त्री भएका कांग्रेसका रामशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने माओवादीको तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएको खण्डमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।
त्यस्तै १ नम्बर प्रदेशबाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ । किराँतीको नाममा पनि अहिले चर्चा भइरहेको छ । दलितको कोटाबाट बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।
प्रदेश नम्बर २ र सुदुरपश्चिमबाट पनि सकेसम्म मन्त्रिमण्डलमा सहभागी गराउने माओवादीको तयारी छ । मन्त्रालयको भागबण्डा कम पर्ने भएकाले यसपटक सबै प्रदेशलाई समेटिएर सरकारमा पठाउन भने माओवादीलाई सकस छ ।