Kanakai Online

दुर्गा अधिकारीको घर निर्माणमा माओबादी कार्यकर्ताले गरे श्रमदान


शुक्रवार, साउन १, २०७८ |

कनकाई अनलाईन
लोकतान्त्रीक गणतन्त्र प्राप्तीका लागि १७ बर्ष जेल जिवन बिताउनु भएका सानो दुर्गा अधिकारीको घर निर्माणमा नेकपा माओबादी केन्द्र मेचीनगर १० वडा कमिटिले आज बिहान श्रमदान गरेका छन ।

झापाको मेचीनगर १० धुलाबारीमा निर्माण हुँदै गरेको अधिकारीको घर निर्माणमा सहयोग गर्ने उद्देश्यले माओबादी कार्यकर्ताहरुले श्रमदान गरेको माओबादी केन्द्र मेचीनगर १० का अध्यक्ष कृष्ण कौशलले सेतोपत्रलाई बताउनु भयो । कौशलकै अगुवाईमा घर निर्माण समिति समेतको सहभागितामा माओबादी कार्यकर्ताहरुले शुक्रबार बिहान दुई घण्टा श्रमदान गरेको सानो दुर्गा अधिकारी घर निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताउनु भयो ।

झापा क्षेत्र नं। १ का संघिय सांसद राम कार्कीको क्षेत्र बिकास कोष मार्फत बजेट बिनियोजन भए पछि लोकतान्त्रिक योद्धा अधिकारीको घर निर्माण शुरु निर्माण समिति संयोजक आचार्यले बताउनु भयो ।

करीब ४ लाख लाग्ने अनुमान गरिएको अधिकारीको घर निर्माणका लागि संघिय सांसद राम कार्की मार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय बासी र श्रमदानबाट ब्यवस्थापन गरिने निर्माण समितिका संयोजक आचार्यले जानकारी दिनु भयो ।
घर निर्माणको काम अन्तिम चरणमा पुगेको र अब रंग रोकन र झ्याल ढोका जडान गर्न मात्रै बाँकी रहेकाले केही दिन भित्रै घर निर्माण सम्पन्न गरी अधिकारी दम्पत्तीलाई गृह प्रवेश गराउने योजना रहेको निर्माण समितिका सचीव शिव शंकर शाहले बताउनु भयो ।

घर निर्माण भए पछि बस्नलाई सजिलो हुने सानो दुर्गा अधिकारीले बताउनु भयो । ‘बस्नलाई घर बन्यो’ अधिकारीले सेतोपत्रसंग भन्नुभयो, ‘अब राज्यका तर्फबाट सामान्य भरण पोषणको ब्यवस्था भए अरु केही चाहिदैंन ।’

प्रजातन्त्र प्राप्तीको आन्दोलनका क्रममा बर्तमान एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगै २०३० सालमा पक्राउ पर्नु भएका सानो दुर्गा अधिकारी ओली भन्दा ३ बर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त हुनु भएको थियो । जेल जीवनमा झापा, इलाम, बिरगञ्ज र काठमाण्डौका विभिन्न जेलमा बसेको अधिकारीले बताउनु भयो ।

सम्बन्धित खबर