झापा,असार ३०। झापामा पहिलोपटक गौरादह नगरपालिका-६ मा हर्दिनाथ हाइब्रिड -१ जातको धानको परीक्षण खेती गरिएको छ । यो धान अन्य जातका तुलनामा दोब्बर फल्ने जिकिर गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भद्रपुरसँगको साझेदारीमा गौरादहको सगरमाथा किसान समूहले स्वदेशमै विकसित उक्त हाईब्रिड धानको पहिलो खेती गरेको हो ।
अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताएका छन् ।
उनका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टनसम्म हुन्छ । अन्य जातको धान साँढे तीनदेखि चार मेट्रिकटनसम्म मात्र उत्पादन हुने गरेको छ । रोपिएको १२२ दिनभित्रमा यो धान पाकिसक्ने छ ।
नेपालमा हर्दिनाथ हाइब्रिड-१ र ३ जातको धान राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई प्रचलनमा आएको हो ।धानको उत्पादकत्व वृद्धि गर्ने योजनाअनुरुप परियोजनाले यस वर्षदेखि मुलुकका अन्य जिल्लामा समेत किसान र किसान समूहसँग मिलेर स्वदेशी हर्दिनाथ हाईब्रिड-१ धानको प्रदर्शन खेती शुरु गरेको जनाएको छ । परियोजनाले किसान समूहलाई मल, बीउ, विषादी र प्रविधि आदिमा सहयोग पुर्याएको छ ।
अन्य जातको धानको बीउको मूल्य प्रतिकेजी रु ८० पर्छ भने यसको प्रतिकेजी रु २५० पर्ने वरिष्ठ कृषि अधिकृत सुवेदीको भनाइ छ । यसको एउटा एउटा बेर्ना रोप्नुपर्ने र एउटा बेर्नापछि आफँैं गाँजिएर ८० वटासम्म हुने उनले बताएका छन्।
स्थानीय किसान चन्द्रप्रसाद निरौलाले पहिलोपटक यसको खेती गरेकाले आफू उत्साहित भइरहेको बताएका छन् । यसवर्ष एक हेक्टरमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष खेती विस्तार गर्ने समूहको योजना छ ।
सोमवार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंह, धान सुपरजोन जिल्ला कार्यसमितिका पदाधिकारी, पत्रकार र अन्य सरकारी कार्यालयका प्रमुखले धानखेती भएको स्थानमा पुगेर अनुगमन गरेका छन् ।रासस