Kanakai Online

बिर्तामोड युवती मृत्यु प्रकरण-मोवाइल फरेन्सिक जाँचका लागि काठमाण्डौ पठाइयो


बुधवार, असार ३०, २०७८ |

बिर्तामोड,असार ३०। गत सोमबार झापाको बिर्तामोड –५ मा घरको आँगनमा  अर्धनग्न अवस्थामा  मृत  फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको मृत्युको कारण के कसरी भयो भन्ने सत्यतथ्य अझै बाहिर आएको छैन । नागरिकहरुले घटनाको बारे सत्यतथ्य जानकारी प्रहरीले सार्वजनिक गर्ने हो की होईन भनेर जिज्ञाषा राखिरहेको अवस्था छ । उता झापा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको जनाएको छ ।

शवको प्रकृतिलाई हेर्दा हत्याको आशंका गर्न सकिने धेरै आधारहरु देखिए पछि प्रहरीले सोही आधारलाई मानेर अनुसन्धानलाई अघि बढाएको छ । सत्यतथ्य पत्ता लगाउन प्रहरी लागिपरिरहेको अबस्थामा युवतीका आफन्तले ‘आत्महत्या’ गरेको भन्दै दावी गर्दै आएका छन् । बस्नेतको दाहशंस्कारमा आफन्तजनले ‘आत्महत्या’ गरेको भन्दै अन्य मलामीलाई बताएको बुझिएको छ । यद्धपि, अनुसन्धानलाई प्रहरीले मसिनो गरि अघि बढाएको छ ।

झापा प्रहरीका प्रवक्ता राकेश थापाको भनाई अनुसार अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ । उनले युवतीको मोवाइल फरेन्सिक जाँचको लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । पोष्टमार्टमको रिपोट पनि आइसकेको छ ।

आफन्तसँग डेरामा बस्दै आएकी बस्नेतको शव सोही घरमुनी फेला परेको थियो । सबै तलाका ढोकामा चावी लगाइएको अवस्थामा युवतीको शव घर बाहिर भेटिनुले घटना रहस्यमय बनेको आम बुझाई छ ।