दमक, असार २९ गते । झापाका ग्रामिण क्षेत्रहरूमा रहेका कच्ची तथा ग्राभेल सडकहरू धमाधम कालोपत्रे भइरहेका छन् ।
जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका स्थानीय तहहरूमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा कालोपत्रेका काम भइरहेका छन् ।झापाको कमल गाउँपालिकामा चालू आर्थिक वर्ष २०७७÷७८ वर्षमा छ किलो मिटर भन्दाबढी सडक कालोपत्रे भएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार सडकको सहज पहुँचताका लागि गाउँपालिकाले अधिकतम प्रयास गरिरहेको छ । विभिन्न वडाहरूका सडकमा कालोपत्रे भएको हो ।दमक नगरपालिकाका त अधिकांश सडकहरू कालोपत्रे भएका छन् । सहरी क्षेत्रका मात्र नभएर ग्रामिण क्षेत्रहरूलाई जोड्ने सडकहरू पनि कालोपत्रे भएका छन् । तीनै तहका सरकारको बजेटले कालोपत्रे भएका हुन् । सडकहरू कालोपत्रे त भएका छन् तर यसको संरक्षणमा स्थानीयको ध्यान नजादा सडकहरूको भने विजोग देखिन्छ ।
सडकहरूमा बिस्कुन सुकाउने, लामो समयसम्म निर्माण सामग्री थुपार्ने, बाटोको डिलमा चौपाया बाध्ने जस्ता कार्यले गर्दा कालोपत्रेको अवस्था बिग्रदो अवस्थामा रहेको बताइन्छ । यस विषयमा स्थानीयवासीलाई बारम्बार सम्झाउँदा पनि अटेरी गर्ने प्रवृती नहटेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बताउनु हुन्छ ।“आफ्नो घर अगाडि बनेको सडकको सुरक्षा गर्ने जिम्मेवारी उपभोक्ताको पनि त हो तर यो सोच सबैमा रहेको पाइदैन”– ओलीले भन्नुभयो–“करोडौ खर्च गरेर बनाएको सडक सानो लापरवाहीले गर्दा बिग्रिरहेकाले यस्तो नगर्न भनिरहेका छौ”। सहरी क्षेत्रका पीचहरूमा पनि महिनौ निर्माण सामग्री थुपार्दा कालोपत्रे बिग्रिरहेको छ ।झापाको बाह्दशी गाउँपालिका– ५ की वडा सदस्य जानकी राजवंशीको पनि यस्तै अनुभव छ । कालोपत्रेमाथि बिस्कुन सुकाएर हैरान हुने अवस्था रहेको उहाँको भनाइ छ । बिस्कुन सुकाएका कारण दुर्घटना परेको भनेर वडा कार्यालयमा उजुरी पनि परेको उहाँले बताउनु भयो।
गौरादह नगरपालिकाको ग्रामिण क्षेत्रका सडकहरूमा पनि गाई भैसी बाँध्ने गर्नाले पिच गरेका सडकहरू बिग्रिरहेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारी बताउनु हुन्छ । गोबर र गाई गोरुको पिसाबका कारणले कालोपत्रेको आयु घट्ने गरेको विज्ञहरु बताउछन।यो खबर गोरखापत्र दैनीकमा बिष्णु प्रसाद पोखरेलले लेख्नु भएको छ।