झापा,१४ असार । जिल्ला प्रशासन कार्यालय झापाले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । छैटौँ पटकसम्मको निषेधाज्ञालाई परिमार्जन गर्दै थप खुकुलो बनाएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले झापामा सातौँ पटक निषेधाज्ञा थप गरेको छ । सोमबार बसेको बैठकले असार २१ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा थप गरेको हो ।निर्णयअनुसार सिटी सफारी, अटो रिक्सा जोरविजोर प्रणालीअन्तरगत झापा जिल्लाभर सञ्चालन गर्न पाउनेछन् । गतेअनुसार सिटी सफारी र अटो रिक्सामा जोर विजोर प्रणाली लागु हुनेछ । यस्तै, सबै किसिमका निजी सवारीसाधनमा पनि जोरविजोर प्रणाली लागु हुने जनाइएको छ ।अन्य यातायातका हकमा सार्वजनिक सवारीसाधन भने सञ्चालन गर्न पाइने छैन । हवाई यात्रा गरेका र गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गर्न पाउने निर्णय गरेको छ ।प्रशासनले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।निर्णयअनुसार यसअघि बिहान ६ बजेदेखि १२ बजेसम्म खोल्न पाउने अनुमति दिएको पसलहरु थप ३ घण्टा खोल्न पाउने भएका छन् । जिल्लामा कोभिड १९ को अवस्था, संक्रमण, निको र मृत्यु दरलाई मध्यनजर गर्दै निर्णय गरिएको बताइएको छ ।दिउँसो ३ बजेसम्म खुल्ने पसलहरुमा खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दूधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल रहेको छ ।बैठकले ती पसलहरु प्रत्येक दिन बिहान ६ देखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल सञ्चालकहरुलाई आग्रह गरेको छ ।सरकारी, सार्वजनिक संस्थान लगायतका कार्यालय भिडभाड नगराई, आलोपालो प्रणाली अन्तरगत सेवा प्रवाह गर्ने निर्णय भएको छ ।
बैठकले होटल तथा रेष्टुरेन्टले ‘टेक अवे’ सेवा नै यथावत राखेको छ । मलखाद, बिउ, कुखुरा चल्ला, दाना, पशुपन्छी आहारालगायतका कृषि सम्बन्धि पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न आग्रह गरिएको छ ।