Kanakai Online

झापा कांग्रेसमा चुनावी सरगर्मी देउमान थेबे कट्टेल, ढकाल, पोद्धारको दावी


शनिवार, असार १२, २०७८ |

कनकाई अनलाईन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन् । वहालवाला प्रधानमन्त्री ओलीको समेत गृह जिल्ला भएकोले ओलीका कार्याकर्तालाई टसल दिनसक्ने क्षमताको कांग्रेस नेतृत्व छान्नुपर्ने हुदा समेत झापाको कांग्रेस जिल्ला अधिवेशन हेर्न लायक रहने छ ।

पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी कांग्रेस झापाको कोषाध्यक्ष हुँदै उपसभापति पदमा बसेर काम गरिसकेका छन् । पार्टीमा लामो अनुभव प्राप्त गरिसकेका उनी पुराना कांग्रेसी नेताका रुपमा परिचित हुनुहुन्छ ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले झापामा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहेका छन् । उनीहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत रहेको छ । कोरोना महामारीका कारण पार्टीको जिल्ला समितिले नेताद्वय सिटौला र शर्मालाई सहभागी गराएर भर्चुअल बैठक पटकपटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठेराका बीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ ।

करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्घव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताउँदै आएका छन् । उनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्ने झापामा कांग्रेसको नयाँ नेतृत्व आउने बताए । उनले भने– ‘अब नयाँ साथीहरु नेतृत्वमा आउनुहुन्छ ।’

पार्टीका उपसभापति राम कट्टेलबाहेक अरुले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेको छैन । तर, पार्टीका पूर्वउपसभापति देउमान थेबे अघिल्लो पटक सर्वसम्मतका रुपमा नेतृत्व थापालाई छाडिसकेकोले उनी समेत यसपटको दावेदार हुन । पूर्वसचिव भगिरथ पोद्धार, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे र प्रचार विभाग प्रमुख लोकराज ढकाल पनि सभापतिको आकांक्षी हुन् । पूर्व उपसभापति थेबेले क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए पनि कांग्रेस नेतृत्व आगामी तीनै तहको चुनावमा समेत टिकट वाढ्ने कार्यमा नेतृत्वदायी भुमिकामा रहने हुदा नेतृत्वमा तछाड मछाड हुन् निश्चित छ । कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार झापामा पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

कोभिड–१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल चलिरहेको सभापति थापाले जानकारी दिए । उनले प्रत्यक्ष रुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको जानकारी दिए । ‘परम्परागत ढङ्गले अधिवेशन हुने सम्भावना छैन, विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं’, उनले भने ।

सम्बन्धित खबर